एमालेको आसन्न राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटको विषयलाई लिएर कास्कीमा विवाद भएको छ। प्रतिनिधि छनोटका लागि कास्कीका तीन निर्वाचन क्षेत्रका आकांक्षी उम्मेदवारसँग छलफल नै नगरी सर्वसम्मतको नाममा २१ जना प्रतिनिधि छनोट गरिएपछि विवाद सिर्जना भएको हो ।
महाधिवेशन प्रतिनिधि चयनका लागि ९ मंसिरमा क्षेत्रीय भेला आयोजना गरिएको थियो । जसअनुसार क्षेत्र नम्बर १ मा ३८, २ मा ३६ र ३ मा ४८ जनाले उम्मेदवारी दिएका थिए ।
आकांक्षीहरूको आवेदन संकलन गरेपछि नाम छनोट गर्ने अन्तिम दिन १३ मंसिरभित्र छिनोफानो भैसक्नुपर्नेमा १४ मंसिरमा सहमतिको नाममा प्रतिनिधिहरूको नाम चयन भएपछि विवाद भएको हो ।
आकांक्षीहरूसँग बैठक र छलफल नगरी पार्टीको पद्धति र विधिको समेत बेवास्ता गरी प्रतिनिधि सिफारिस गरिएको भन्दै १३ जनाले कास्कीका अध्यक्ष बैनबहादुर क्षत्रीलाई पत्र बुझाउँदै निर्वाचन प्रक्रियामार्फत प्रतिनिधि छनोट गर्न भनेका छन् । पत्रमार्फत प्रतिनिधि चयनमा देखाइएको अराजक परिपाटीको घोर भर्त्सना गर्दै, यस प्रकारको पार्टी कब्जा गर्ने कुन्सित मनसायको विरुद्धमा पार्टीका जिम्मेवार निकायहरूको गम्भीर ध्यानाकर्षण गराएका छन्।
कास्कीका तीन क्षेत्रमध्ये क्षेत्र नम्बर १ मा स्थायी कमिटी सदस्य खगराज अधिकारी, २ मा केन्द्रीय सदस्य एवं कास्की जिल्ला इन्चार्ज कृष्णबहादुर थापा र ३ मा नेता जगत विश्वकर्मालाई प्रतिनिधि चयनका लागि खटाइएको वा जिम्मा दिएकोमा उनीहरूले मनोमानी गरी आफ्ना नजिकहरूको नाम चयन गरेको आरोप छ । जिम्मा पाएका नेताहरूले आकांक्षीहरूमध्येबाट पार्टी अध्यक्ष ओलीको पक्षमा खुल्ने र घात नगर्नेहरूलाई मात्र चयन गरेको आरोप छ ।
छनोट हुनेहरूमा क्षेत्र नम्बर १ बाट खुलातर्फ टीकाराम पंगेनी, बैनबहादु श्रेत्री र वेदबहादुर गुरुङ, दर्शन लामा, महिलातर्फ विजया सुवेदी र रक्षा भट्टराई, युवातर्फ नवराज ओझा रहेका छन् ।
क्षेत्र नम्बर २ बाट खुलातर्फ तेजनारायण अधिकारी, रश्मी आचार्य, भेषराज बराल, रामप्रसाद खनाल, युवातर्फ विजय पौडेल, महितातर्फ हिरा गिरी र सिर्जना शर्मा रहेका छन् ।
क्षेत्र नम्बर ३ मा खुलातर्फ माधवप्रसाद बाँस्तोला, दीपक पौडेल, जगन्नाथ बाँस्तोला, लालबहादुर परियार, महिलातर्फ शोभा पहारी, गीता विक र युवातर्फ भरतमान गुरुङ रहेका छन्।
यसअघि सर्वसम्मतको नाममा प्रतिनिधि छनोटमा ढिलाइ र मनोमानी गरिएको भन्दै आकांक्षीहरूले जिल्ला पार्टी कार्यालयमा भेला भएर नेतालाई दबाब दिएका थिए।