नेकपा एमाले रामेछापले ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन जाने प्रतिनिधिहरूको नामावली सहमतिमै छानेर पठाएको छ।
महाधिवेशन प्रतिनिधि बन्न रामेछापमा ६७ जनाले उम्मेदवारी दर्ता गराएपछि पार्टी इन्चार्जसहित अग्रज जिल्ला नेताहरूको व्यापक छलफलपछि १२ जना प्रतिनिधिहरू छनोट भएका हुन्।
खुला पुरुषतर्फ टंक चौलागाईं (दोरम्बा गाउँपालिका–६), ज्ञानकुमार योन्जन (सुनापति गाउँपालिका–२), इन्द्रबहादुर तामाङ (खाँडादेवी गाउँपालिका–६), शान्तिप्रसाद पौडेल (गोकुलगंगा गाउँपालिका–५), पुरुषोत्तम कडरिया (लिखु तामाकोशी गाउँपालिका–६), आनन्दकुमार श्रेष्ठ (मन्थली नगरपालिका–६) रहेका छन्। पुरुषतर्फ ३४ जनाले उम्मेदवारी दर्ता गरेका थिए।
यसैगरी, महिलातर्फ १५ जनाले उम्मेदवारी दर्ता गराएकोमा उमाकुण्ड गाउँपालिकाकी गंगा कार्की, मन्थली नगरपालिकाकी शान्ता न्यौपाने (सुवेदी), खाँडादेवी गाउँपालिकाकी मखमली श्रेष्ठ र रामेछाप नगरपालिकाकी सीता केसी चयन भएका छन्।
युवातर्फ मन्थली नगरपालिकाका बलबहादुर माझीको नाम टुंगो लागेको छ। यसमा १५ जनाले उम्मेदवारी दिएका थिए। त्यसैगरी, उत्पीडित दलिततर्फ मन्थलीकै सीताराम लोहार पनि सर्वसम्मत चयन भएका एमाले रामेछापका सचिव प्रकाश कार्कीले जानकारी दिए।