नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनका लागि सिराहाका चार निर्वाचन क्षेत्रमध्ये तीनवटा क्षेत्रमा सर्वसम्मत प्रतिनिधि चुनिएका छन्।
मंसिर २७–२९ सम्म हुने महाधिवेशनका लागि प्रतिनिधि छनाेटका लागि शनिबार राति अबेर निर्वाचन क्षेत्र नं. १ का आठजनाबाहेक बाँकी क्षेत्रबाट सर्वसम्मत २१ प्रतिनिधि निर्वाचित भएकाे जिल्ला अध्यक्ष अशोककुमार यादवले जानकारी दिए। ‘क्षेत्र नं. १ मा पनि शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा भएको निर्वाचनबाट आठजना छनाेट भएका छन्,’ उनले भने।
अध्यक्ष पदका आकांक्षी केपी ओली र ईश्वर पोखरेल समूहबिच सिराहाबाट छनाेट भएका प्रतिनिधिअनुसार कुन समूह बलियो देखिन्छ भन्ने प्रश्नमा जिल्ला अध्यक्ष यादवले भने, ‘व्यक्तिको पक्ष होइन, पार्टी सबल बनाउने उद्देश्यसहित प्रतिनिधि चयन भएका छन्।’
यादवले महाधिवेशनको सन्दर्भमा समूह नखुलाए पनि गत चैतमा सम्पन्न जिल्ला अधिवेशनमा संस्थापनइतर पक्षबाट जिल्ला अध्यक्ष पदमा बाजी मारेका थिए।
को को छानिए प्रतिनिधि ?
पार्टी सदस्य संख्याको आधारमा जिल्लाको चार वटा निर्वाचन क्षेत्रबाट खुलातर्फ १६, महिलातर्फ सात, युवातर्फ चार र जिल्ला दलित क्लष्टरबाट ६ जना गरी ३५ जना प्रतिनिधि छनौट भएका छन्।
छनौट भएका प्रतिनिधिहरुमा खुलातर्फ एमाले जिल्ला अध्यक्ष यादवसहित मुनि साह, उग्रनारायण यादव, रामशंकर यादव, शिवशंकर महतो, रामइश्वर साह, रामचन्द्र यादव, नविनकुमार यादव, श्यामकुमार श्रेष्ठ, शत्रुधनप्रसाद सिंह, फुलेश्वर नायक, डा. नविन यादव, प्रदिप महासेठ र वैद्यनाथ साह छन्।
त्यस्तै, महिलातर्फ सरियारकुमारी चौधरी, विभाकुमारी यादव, गोमा तिमल्सिना, उषा यादव, रेखा यादव, आशा लामा, आशा यादव, सुशीलादेवी मण्डल, जगतारैनदेवी सुडी तथा युवातर्फ जितेन्द्रकुमार यादव, रामसरोवर यादव, सम्झना सिंह र इन्द्रेश राउत चयन भएका निर्वाचन समितिले जनाएको छ। समितिका अनुसार ६ जनाको जिल्ला दलित क्लष्टरमा जीवन पासवान, अशोक मण्डल, संजिव महरा, रासलाल पासवान, रामस्वप सदाय र खगेन्द्र लकान्द्री चयन भएका छन ।