पानी उद्योगका प्रबन्धक सिंहको हत्या आरोपमा दुई पक्राउ

आइतबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

बाराको प्रसौनी गाउँपालिका– ६, भलुही चोकनजिक किरण बेभरेज नेपाल प्रालिद्वारा सञ्चालित पानी फ्याक्ट्रीका व्यवस्थापक रामकिशोर सिंहको हत्या आरोपमा दुईजनालाई बारा प्रहरीले पक्राउ गरेको छ।

मंसिर ११ गते बेलुका करिब साढे ८ बजे फ्याक्ट्रीदेखि २५ मिटर उत्तरतर्फको खाल्डोमा सिंहको घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो।

हत्या आरोपमा प्रहरीले पर्साको वीरगन्ज महानगरपालिका– २२, मनियारीका २१ वर्षीय राजनकुमार राम र सोही स्थानका ३२ वर्षीय प्रमोद साह तुरहालाई पक्राउ गरेको हो। राजनकुमार सोही पानी फ्याक्ट्रीमा चालकका रूपमा काम गर्दै आएका थिए। गत वर्ष गढीमाई मेलाको घटनालाई लिएर मृतक र राजनबिच पहिले नै विवाद थियो। 

साथै फ्याक्ट्रीले तोकेको पानीको मूल्यमा राजनले व्यक्तिगत मुनाफाका लागि ५–१० रुपैयाँ बढीमा बेच्दै आएको थाहा पाएपछि व्यवस्थापक रामकिशोरले मंसिर १० गते उनलाई कामबाट हटाएका थिए। यही रिसइबीका कारण राजनले प्रमोदसँग मिलेर वीरगन्जमै बसेर हत्या योजना बनाएको बारा प्रहरी प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए।

उनीहरूले मंसिर ११ गते राति फ्याक्ट्रीमा सिंह एक्लै रहेको समय पर्खेर छुरा र इँट प्रयोग गरी बीभत्स रूपमा हत्या गरेको प्रहरीले जनाएको छ। घटनाको सूचना पाएपछि मंसिर १२ गते बिहान करिब ८ बजे जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले घटनास्थलकाे मुचुल्का उठाई फरार रहेका आरोपीहरूको खोजी सुरु गरेको थियो।

पर्सा प्रहरीसँगको समन्वयमा राजनकुमारलाई भारत भाग्न खोज्दै गरेको अवस्थामा छिपहरमाई गाउँपालिका– ५, भिस्वानाकाबाट र प्रमोदलाई वीरगन्ज महानगरपालिका– २२ मा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठले बताए।

दुवैजनालाई बारा जिल्ला अदालतबाट सात दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका निमित्त प्रवक्ता प्रहरी निरीक्षक खेमप्रसाद नेपालले जानकारी दिए।

सुझावित समाचार