आजको खेल : कर्णालीलाई काठमाडौंविरुद्ध बदला लिने अवसर

आइतबार, १४ मंसिर, २०८२
डिजिटल संस्करण

काठमाडौं गोर्खाज दोस्रो संस्करणको एनपिएलमा शीर्ष चारमा रहँदै प्ले–अफमा स्थान बनाउने अवसर छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा काठमाडौंले आइतबार कर्णाली याक्सको सामना गर्दै छ । यस खेलमा जित निकाल्दा काठमाडौं प्ले–अफ नजिक पुग्नेछ । जितले आठ अंकका साथ तेस्रो स्थान काठमाडौंले बलियो बनाउनेछ । कर्णाली पनि शीर्षको आशा यथावत् राख्न काठमाडौंलाई पाखा लगाउनुपर्नेछ । 

जितले कर्णालीको ६ अंक हुनेछ । हारले कर्णालीको प्ले–अफ दौड पातलो हुनेछ । यसै समीकरणले नै काठमाडौं र कर्णालीले एक–आपसविरुद्धको खेल महत्वपूर्ण मानेका छन् । काठमाडौंले पछिल्लो दुई खेलमा उत्कृष्ट प्रदर्शन गरी चार अंक बटुल्दा कर्णालीले भने खेल गुमाएको अवस्था छ । काठमाडौंको बलियो पक्ष नै अलराउन्ड खेलाडीले भरिएको छ । 

ग्रेहार्ड इरामुस, करण केसी र मिलिन्द कुमारजस्ता अलराउन्डरले काठमाडौं बलियो देखिन्छ । कर्णालीमा भने पवन सराफ र गुल्सन झा मात्र अलरान्डर खेलाडीमा पर्छन् । कर्णालीले यसपटक बलिङ अलराउन्डर मजबुत बनाएको छ । गुल्सन झा, सोमपाल कामी, मार्क वाट र नन्दन यादवले खेलमा प्रभाव पार्न सक्छन् । कर्णालीले मुख्य आशा गरेका खेलाडी नै वाट हुन् । कर्णालीले गत वर्षको हारको बदला लिने उद्देश्यका साथ काठमाडौंविरुद्ध प्रतिस्पर्धा गर्नेछ । 

प्लेयर्स टु वाच

सोमपाल कामी (कर्णाली)
काठमाडौं गोर्खाजविरुद्ध प्रतिस्पर्धा गरिरहँदा कर्णाली याक्सका कप्तान सोमपालको काँधमा ठुलो जिम्मेवारी छ । विराटनगर किंग्ससँग अप्रत्याशित रूपमा पराजित भएको कर्णालीले प्लेअफ आशा जीवित बनाउन कप्तानीका रूपमा सोमपालले बलिङमा प्रेरणादायी प्रदर्शन गर्नुपर्नेछ । उनी अहिलेसम्म विकेटविहीन भएका छैनन् । उनले काठमाडौंविरुद्ध पावर प्लेमा उत्कृष्ट बलिङ प्रदर्शन गर्नुपर्ने हुन्छ । उनको कमजोर नै डेथ ओभरमा हो । सोमपालले यस पक्षमा सुधार गर्दा कर्णाली काठमाडौंमाथि हाबी हुने सम्भावना छ । अलिहेसम्म उनले आठ विकेट लिएका छन् । सुदूरपश्चिमसँगको खेलमा उनले ३२ रन खर्चेर तीन विकेट हात पारेका थिए । 

मार्क वाट (कर्णाली)
कर्णालीको ब्याटिङ अर्डरमा विदेशी खेलाडी वाटमाथि निर्भर छ । पहिलो बलदेखि नै आक्रामक रूपमा प्रस्तुत हुने वाटले टोलीको रनरेट उकास्ने ठुलो योगदान गर्दै आइरहेका छन् । यद्यपि, एक खेलमा मात्र उनको ब्याटबाट शतकीय इनिङ्स निस्किएको थियो । लुम्बिनीविरुद्धको खेलमा उनले ११४ रनको विस्फोटक इनिङ्स खेल्दै टोलीलाई पहिलो जित दिलाएका थिए । त्यसपछिका खेलमा उनले सोचे जस्तो प्रदर्शन गर्न सकेनन् । काठमाडौंसँगको खेलमा उनी पुन: एकपटक यस्तै किसिमको प्रदर्शन गर्न सक्ने खेलाडीका रूपमा रहेका छन् । ब्याटिङ मात्र नभएर बलिङमा समेत उनको प्रदर्शन राम्रो छ । विराटनगरबाहेक अन्य खेलमा उनले विकेट हात पारेका छन् ।

करण केसी (काठमाडौं)
काठमाडौंले प्लेअफ आशा बलियो बनाउनुपछाडि कप्तान करणको बलिङ प्रदर्शन प्रमुख हो । काठमाडौंले खेलेको पाँचै खेलमा उनले विकेट हात पारेका छन् । लुम्बिनी लायन्सविरुद्धको महत्वपूर्ण जितमा काठमाडौंका लागि करणले अलराउन्ड प्रदर्शन गरका थिए । उनले ब्याटिङमा ३४ रन तथा बलिङमा एक विकेट लिएका थिए । उनले सुदूरपश्चिमविरुद्ध ३० खर्चेर चार विकेट हात पारेका थिए । महत्वपूर्ण खेलमा उनी चम्कने गर्छन् । कर्णालीविरुद्धको खेलमा कप्तान करणबाट काठमाडौंले यस्तै अपेक्षा राखेको छ । लुम्बिनीविरुद्धको पावर प्लेमा करणको बलिङ घातक सिद्ध हुन सक्छ ।

मिलिन्द कुमार (काठमाडौं)
काठमाडौंका विदेशी खेलाडीमध्ये मिलिन्दले एकनासको प्रदर्शन गरिरहेका छन् । उनले खेलेका चारै खेलमा रन तथा विकेटमा योगदान दिएका छन् । चितवनसँगको प्रतिस्पर्धामा उनले अलराउन्ड खेल देखाए । यसमा उनले ३८ रन बनाउनुका साथै दुई विकेट पनि हात पारे । एनपिएलको उद्घाटन खेलमा जनकपुर बोल्ट्समाथि जित निकाल्दा उनले १५ रन खर्चेर तीन विकेट हात पारेका थिए । कर्णालीको ब्याटिङविरुद्ध मिलिन्दले कसिलो बलिङ गर्न सक्ने आधार छन् । ओसिलो पिचमा उनको ग्रिप मजबुत हुँदै छ । त्यसवेलामा विपक्षी ब्याट्सम्यान विट हुने गर्छन् । 

See More On

सुझावित समाचार