यसै साता हङकङको ताई पो जिल्लामा रहेको एउटा अपार्टमेन्ट कम्प्लेक्समा भएको भीषण आगलागीमा ठुलो जनधनको क्षति भयो । उक्त आगलागीमा परेर कम्तीमा १२८ जनाको मृत्यु भएको पुष्टि भएको छ । आगलागीमा अझै केही मानिस बेपत्ता भएकाले मृतकको संख्या बढ्ने निश्चित छ । धेरै अग्ला टावरमा लागेको आगो निभाउन निकै सकस भएको थियो । आगो निभाउन दर्जनौँ दमकल र अग्नि नियन्त्रकको प्रयोग गरिएको थियो । आगलागीको सही कारण अझै थाहा हुन सकेको छैन । भवन निर्माणमा प्रयोग गरिएको खटमा आगो सल्किएपछि ठुलो विपत् निम्तिएको प्रारम्भिक अनुसन्धानमा देखाइएको छ । सरकारले यसबारे गहन अनुसन्धान सुरु गरिसकेको छ ।
हङकङ प्रहरीले आगलागीको घटनामा सम्बन्धित भएको भन्दै तीन निर्माण कम्पनीका कार्यकारीलाई पक्राउ गरेको छ । आठवटा हाउजिङमध्ये सातवटामा आगो सल्किएको थियो । हाउजिङका अपार्टमेन्ट ब्लक ३१ तला अग्ला छन् । १९८३ मा सञ्चालनमा ल्याइएका ती भवनमा मर्मत सम्भार भइरहेको थियो । मर्मतका क्रममा भवनको वरपर अग्ला बाँसका खटले घेरेको र हरियो सुरक्षात्मक जालीले ढाकिएका थिए । बाँसको खट शताब्दीयौँदेखि सहरको विशेषता रहेको छ । तर, आधुनिक समयमा पनि बाँसको प्रयोग किन ? यसको उत्तर आंशिक इतिहास, इन्जिनियरिङ र आंशिक अर्थशास्त्र हो । तर, हालैको त्रासदीले बाँस कहिले र कहाँ प्रयोग गर्ने भन्ने कुरामा ध्यान केन्द्रित गरेको छ ।
बाँसको प्रयोग नै किन ?
बाँस भनेको खोक्रो, ट्युबजस्तो डाँठ भएको छिटो बढ्ने एक प्रकारको वनस्पति हो । कम तौल, अग्लो स्वरूप र उच्च शक्ति बाँसको विशेषता नै हो । बाँसको खट र भर्याङ तुलनात्मक रूपमा हलुका र सजिलो हुन्छ । यसलाई बाँध्न, प्रयोग गर्न र एक ठाउँबाट अर्को ठाउँ लैजान पनि सहज हुन्छ । उचित रूपमा डिजाइन गरिएका बाँसका खटले हावा र काम गर्ने भारको प्रतिरोध गर्न सक्छ । हङकङको भवन विभाग र श्रम विभागले बाँसको खटको डिजाइन र निर्माणमा स्पष्ट दिशानिर्देश प्रकाशित गरेको छ । बाँसको खट मुख्य भूमि चीन, भारत र दक्षिणपूर्व एसिया र दक्षिण अमेरिकाका केही भागमा पनि प्रयोग गरिन्छ ।
हङकङमा बाँसको मचान प्रयोग गर्नुका तीन मुख्य कारण छन् । पहिलो हो– गतिशील । अनुभवी टोलीले भवनलाई छिटो बाँसले ‘बेर्न’ सक्छ, किनभने पोलहरू हल्का हुन्छन् र अनियमित आकार ‘फिट’ गर्न जुनसुकै वेला काट्न सकिन्छ । सीमित क्रेन पहुँच भएका साँघुरा सडकमा यो झन् महत्वपूर्ण छ । कतिपय साँघुरा गल्लीमा त यो अन्तिम विकल्प हो । दोस्रो– लागत । बाँसको पहुँच सहज छ । यसलाई स्थानीय रूपमा जुटाउन पनि सजिलो छ । तेस्रो– परम्परा र सीप । बाँसको मचान र खटले चिनियाँ कलालाई पनि प्रतिबिम्बित गर्छ । सन् १०८५ देखि ११४५ को अवधिमा यसलाई कलाको रूपमा व्यापक प्रयोग गरिन्थ्यो । हङकङले अझै पनि बाँसको मचान बनाउन तालिम दिन्छ । बाँसको शिल्प सहरको निर्माणमा संस्कृतिको एउटा हिस्सा पनि हो ।
यही कारणले आकाशै छुने सहरका गगनचुम्बी महलमा पनि बाँसको प्रयोग देखिन थालेको छ, यद्यपि अन्य सामग्री पनि उपलब्ध छन् । यसको समग्र जलवायु प्रभाव पनि कम हुन्छ ।
के हुन् जोखिम ?
बाँसको खटका दुई मुख्य जोखिम छन् । हङकङको यो त्रासदीले प्रकाश पारेझैँ पहिलो आगलागीको जोखिम । सुक्खा बाँस दहनशील हुन्छ, र खटमा प्राय: बेरिएको हरियो प्लास्टिकको जाली पनि चाँडै जल्न सक्छ । ताई पो आगलागीमा फुटेज र रिपोर्टहरूले आगो चाँडै खट, जाली र भवनहरूको अगाडिको भागमा फैलिएको संकेत गर्छ । बाँसको खट प्रयोग गर्ने दोस्रो जोखिम परिवर्तनशीलता र शक्तिसँग सम्बन्धित छ । बाँस एक प्राकृतिक सामग्री हो र प्रजाति, आयु र आद्र्रताअनुसार यसको शक्ति फरक–फरक हुन्छ । बाहिरबाट हेर्दा बलियो देखिने कतिपय बाँसका प्वाल खुकुलो हुन सक्छन् र हावाहुरीको समयमा यसले अर्को जोखिम निम्त्याउँछ ।
धातुमा परिवर्तन
मार्च २०२५ मा हङकङको विकास ब्युरोले नयाँ सरकारी सार्वजनिक निर्माण ठेक्कामा कम्तीमा ५० प्रतिशत काममा धातुको खट अपनाउन निर्देशन दियो । यसले सम्भव भएसम्म मर्मतसम्भारमा धातुको प्रयोगलाई पनि प्रोत्साहित गर्यो । त्यसपछि जुन र जुलाईमा व्यवस्थापिका परिषद्ले पनि यो आवश्यकता दोहोर्यायो । निजी परियोजनाले अझै पनि विद्यमान कोडअन्तर्गत बाँस प्रयोग गर्न सक्छन् । तर, सार्वजनिक कार्यका लागि आधारभूत अब धातु हो, जसले गैरदहनशील प्रणालीतर्फ कदम चाल्ने संकेत गर्छ ।
हङकङमा हालै भएको आगलागीले सिकाएको पाठ यो होइन कि बाँस खटका लागि ‘राम्रो’ वा ‘नराम्रो’ हो । बरु यो सन्दर्भको बारेमा हो । सानो स्तरको, छोटो अवधिको, जमिनबाट हुने काममा खटका स्पष्ट फाइदा छन्, जहाँ सडक साँघुरो हुन्छन् र बजेट कम हुन्छ । तर अग्लो, व्यस्त आवासीय ब्लकमा विशेषगरी जालीले बेरिएको मोहडामा, आगोको जोखिमका कारण यस विकल्प खोजिनुपर्छ । बाँसको खटले हङकङको क्षितिज निर्माण गर्न मद्दत गर्यो, किनभने यो छिटो, सजिलो र किफायती थियो । आगो पछाडिको विज्ञान र अग्ला भवनमा बस्न रुचाउने जीवनको वास्तविकताले अब यसको विकल्प खोजेको छ– कामका लागि सही उपकरण प्रयोग गरियोस् । जब जोखिम बढ्छ, गैरदहनशील प्रणालीतर्फ परिवर्तन गर्नुहोस् । यसरी सहरले गर्व गर्ने शिल्पलाई सम्मान गर्न सक्छ ।
नोरुजिनेजाद पश्चिमी सिड्नी विश्वविद्यालयमा सहरी रूपान्तरण अनुसन्धान केन्द्रका वरिष्ठ अनुसन्धानकर्ता हुन्
द कन्भर्सेसनबाट