भेनेजुयलाप्रतिको अमेरिकी कदमको क्युबाले गर्‍यो आलोचना

आइतबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

क्युबाले संयुक्त राज्य अमेरिकामाथि भेनेजुयलाको नेतृत्वलाई बलपूर्वक हटाउने दिशामा अघि बढेको आरोप लगाएको छ । त्यस्तै क्यारेबियन क्षेत्रमा अमेरिकी सैन्य बलको बढ्दो तैनाथीले क्षेत्रीय स्थिरतामाथि खतरा ल्याउने पनि उसले चेतावनी दिएको छ । ‘हामी संयुक्त राज्य अमेरिकाका जनतालाई यो पागलपन रोक्न दबाब दिन अपिल गर्छौं,’ क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले मंगलबार एक विज्ञप्ति जारी गर्दै भनेका छन् ।

यस्तो कार्यमार्फत ‘अमेरिकी सरकारले असंख्य मृत्यु निम्त्याउन सक्छ । यस गोलार्द्धमा हिंसा र अस्थिरताको परिदृश्य सिर्जना गर्न सक्छ, जुन अकल्पनीय हुनेछ,’ विज्ञप्तिमा भनिएको छ । यस्तो कार्यले अन्तर्राष्ट्रिय कानुन साथै संयुक्त राष्ट्र संघको बडापत्रको उल्लंघन गर्ने पनि हवानाको दाबी छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरोविरुद्ध थप कारबाहीमाथि मूल्यांकन गरिरहँदा यस्तो निन्दा आएको हो । ट्रम्प प्रशासनले बारम्बार मादुरोलाई अमेरिकामा लागुपदार्थ तस्करी गर्ने अभियानको नेतृत्व गरेको आरोप लगाएको छ । तथापि, वासिंटनले आफ्नो दाबीलाई बल पुग्ने कुनै प्रमाण पेस गरेको छैन ।

विगत दुई महिनामा अमेरिकाले क्यारिबियन सागर र प्रशान्त महासागरमा २१ वटा डुंगामा बम विस्फोट गराएको छ, जसमा कम्तीमा ८३ जना मारिइसके । आक्रमणको निसानामा परेका डुंगाहरू लागुपदार्थको तस्करीमा संलग्न रहेको अमेरिकाको दाबी छ । तर, अधिकारीहरूले लागुपदार्थ तस्करको उपस्थिति रहेको प्रमाण सार्वजनिक गरेको छैन ।

अमेरिकाले अहिले क्यारेबियन क्षेत्रमा सैन्य तैनाथी बढाउँदै लगेर १५ हजार पुर्याएको छ, जुन दशकौँयताको सबैभन्दा ठुलो हो । ट्रम्पले क्यारेबियन क्षेत्रमा सैन्य तैनाथी मदुरोलाई अपदस्थ गर्न नभएको बताएका छन् । तर, सन् २०१३ देखि सत्तामा रहेका राष्ट्रपति मदुरोले भने वासिंटनले आफू सत्ताबाट हटाउने लक्ष्य राखेको र भेनेजुयला सेना तथा जनताले त्यसको प्रतिरोध गर्ने बताएका छन् ।

See More On

सुझावित समाचार