प्रधानमन्त्रीसँग राप्रपाको पाँचबुँदे प्रस्ताव : राजा, दल र जेन–जीलगायत पक्षबिच नवीन समझदारी गरौँ

आइतबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण
  • आगामी निर्वाचनअगावै मुलुकको वर्तमान समस्याको दीर्घकालीन र स्थायी समाधानका लागि कोही कसैले भविष्यमा आन्दोलन गर्नुनपर्ने परिस्थिति निर्माणका लागि राजा, राजनीतिक दल र जेन–जीलगायतका सम्मिलित सर्वपक्षीय सम्मेलनको आयोजनाबाट देशलाई निकास दिने काम होस् ।

राप्रपाले मुलुकको दीर्घकालीन हित र राजनीतिक निकासका लागि राजा, राजनीतिक दल र जेन–जीलगायतका पक्षबिच नवीन समझदारीको औपचारिक प्रस्ताव गरेको छ । अध्यक्ष राजेन्द्र लिङ्देनका नेतृत्वमा प्रतिनिधिमण्डलले शनिबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पाँचबुँदे ज्ञापनपत्र बुझाउँदै नवीन समझदारीका लागि सर्वपक्षीय बैठकको पहल लिन अनुरोध गरेको छ । 

राप्रपाको प्रतिनिधिमण्डलमा अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्षहरू विक्रम पाण्डे, रोशन कार्की र रवीन्द्र मिश्र, उपाध्यक्ष हेमजङ गुरुङ, महामन्त्री डा. धवलशमशेर राणा, कुन्ती शाही, राजेन्द्र गुरुङ, शरदराज पाठक, कोशी प्रदेश अध्यक्ष राम थापा, कोषाध्यक्ष नीलकण्ठ काफ्ले, प्रवक्ता मोहनकुमार श्रेष्ठ र मुख्यसचिव केदारबहादुर अधिकारी सहभागी थिए । 

‘आगामी निर्वाचनअगावै मुलुकको वर्तमान समस्याको दीर्घकालीन र स्थायी समाधानका लागि कोही कसैले भविष्यमा आन्दोलन गर्नुनपर्ने परिस्थिति निर्माणका लागि राजा, राजनीतिक दल र जेन–जीलगायतका सम्मिलित सर्वपक्षीय सम्मेलनको आयोजनाबाट देशलाई निकास दिने काम होस्,’ राप्रपाले बुझाएको ज्ञापनपत्रमा भनिएको छ । 

राप्रपाले अब हुने आमनिर्वाचनमा अन्तरजिल्ला र विदेशबाट मतदान गर्न पाउने सुनिश्चित गरेर मात्रै निर्वाचन प्रक्रियालाई अगाडि बढाउन माग गरेको छ । जेन–जी प्रदर्शनमा सहभागी भएकै कारण देशका विभिन्न भागमा भएको प्रदर्शनका सहभागीहरूलाई पक्रने, मुद्दा लगाउने कार्य रोक्न पनि राप्रपाले माग गरेको छ । राप्रपाले जेन–जी आन्दोलनका सहिद परिवार, घाइतेहरूको माग अविलम्ब पूरा गर्न तथा सरकारसँग विभिन्न माग लिएर प्रदर्शनमा रहेका र प्रधानमन्त्रीसँग भेट गर्न चाहेका जेन–जीहरूमाथि भइरहेको दमन र उपेक्षा बन्द गर्न पनि माग गरेको छ । 

See More On

सुझावित समाचार