प्रधानमन्त्री सुशीला कार्कीले सरकार र ‘जेन–जी’ आन्दोलनका प्रतिनिधिबिच तयार हुँदै गरेको सम्झौता मस्यौदालाई शीघ्र अन्तिम रूप दिन स्पष्ट निर्देशन दिएकी छिन्।
शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित भेटघाटमा आन्दोलनका अगुवाहरूले लामो समयदेखि अल्झिएको सहमतिको प्रक्रियालाई छिटो निष्कर्षमा पुर्याउन आग्रह गरेका थिए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार सरकारी टोलीले आन्दोलनकारी पक्षबाट प्राप्त कागजातको अध्ययनलाई अन्तिम चरणमा पुगेको जानकारी दिँदै आवश्यक परे शनिबार र आइतबारसमेत निरन्तर काम गर्ने तयारी व्यक्त गरेको छ।
बैठकमा प्रधानमन्त्री कार्कीले सम्झौता ढिलो हुनु अनावश्यक भएको बताउँदै कार्यदललाई कडाइका साथ समयसीमा तोकिदिइन्। उनले भनिन्, ‘यो प्रक्रिया धेरै लम्बिनुहुँदैन। सकिने हो भने आजै सकाउनुहोस्। नभए भोलि, पर्सि छुट्टीको दिन पनि काम रोक्न हुँदैन। सबै हेर्नुपर्ने कुरा हेरेर सोमबारभित्र मस्यौदा तयार पार्नैपर्छ।’
कार्कीले राजनीतिक प्रकृतिको विषय भएकाले सम्भावित प्रभावबारे कर्मचारी प्रशासनले चिन्ता लिनु नपर्ने बताउँदै कुनै पनि जिम्मेवारी लिन आफू र मन्त्रिपरिषद् तयार रहेको स्पष्ट पारिन्।