ट्राफिक प्रहरीद्वारा चोरीको गाडी प्रयोग

शुक्रबार, १३ मंसिर, २०८२
डिजिटल संस्करण

मधेश प्रदेशको ट्राफिक प्रहरीको नेतृत्व गर्ने राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, पथलैयाले आफैँ चोरीको गाडी प्रयोग गर्दै आएको छ। प्र ३–०१–०२२ च ०९६८ नम्बर राखेर कार्यालयले चोरीको स्कारपियो जिप  प्रयोग गर्दै आएको हो। 

गत असारमा सो जिप जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले चोकजाँचका क्रममा बरामद गरी थप अनुसन्धानका लागि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया पठाएको थियो। भन्सारमा पठाउनुपर्ने जिप ट्राफिक अधिकारीले आफैँ प्रयोग गर्दै आएका छन्। कार्यालयका प्रमुख एसपी राजकुमार सिलवाललगायत अधिकारीले नक्कली नम्बरप्लेट राखेर सो जिप प्रयोग गर्दै आएका छन्। 

स्रोतका अनुसार सो जिप उनले जितपुरसिमरा उपमहानगरपालिका– २ स्थित भोला मोटर्स वर्कसपमा करिब एक लाख रुपैयाँबराबरको मर्मत गराएका थिए। त्यसको भुक्तानी भने जितपुरसिमरा उपमहानगरपालिकामा रहेको अर्कै गाडीको नम्बर प्रयोग गरिएको थियो । सरकारी खर्चमा यसरी कानुन मिचेर गाडी मर्मत गरिएको हो। 

राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाका प्रमुख सिलवालले भने सो गाडीमाथि अनुसन्धान जारी नै रहेकाले भन्सार नबुझाइएको बताए । ‘गाडी चल्ने हालतमा नरहेका कारण हामीले केही पैसा खर्च गरेर मर्मत गरी चालू अवस्थामा राखेका हौँ,’ एसपी सिलवाल भन्छन्, ‘यातायातबाट गाडीको विवरण माग गरेको भए तापनि विवरण प्राप्त नभएका कारण अनुसन्धान अगाडि बढ्न नसकेको हो । अनुसन्धान पूरा भएपछि भन्सार बुझाउँछौँ ।’ 

तर, कानुनले चोरीको अवस्थामा बरामद भएको सवारीसाधन स्वामित्व तथा कागजात प्रमाणित नभएसम्म, भन्सार प्रक्रिया पूरा नभएसम्म र अदालत वा सम्बन्धित निकायले अनुमति नदिएसम्म कुनै अधिकारीले पनि प्रयोग गर्न नपाउने प्रावधान छ। ट्राफिक प्रहरीले नै कानुन मिचेपछि प्रश्न उठेको छ। 
 

सुझावित समाचार