नेपाल कम्युनिस्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि बन्नका लागि खोटाङमा ६५ जनाले उम्मेदवारी दर्ता गरेका छन् । १० स्थानीय तह रहेको जिल्लाबाट छनोट हुने १० जना महाधिवेशन प्रतिनिधिका लागि ६५ जनाले उम्मेदवारी दर्ता गरेका हुन् ।
पाँचजना खुला प्रतिनिधिका लागि ४१ जना, तीनजना महिलाका लागि नौजना, एकजना युवाका लागि ११ जना र एकजना दलितका लागि चारजनाको उम्मेदवारी दर्ता भएको एमाले खोटाङका अध्यक्ष देवविक्रम राईले जानकारी दिए । प्रतिनिधि छनोटका लागि नेताहरूले उम्मेदवारी दर्ता गराए पनि सहमतिमै प्रतिनिधि छनोट हुने अध्यक्ष राईले दाबी गरेका छन् ।
प्रतिनिधिका लागि उम्मेदवारी दिने उम्मेदवारलाई आज (शुक्रबार) दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा छलफलका लागि बोलाइएको एमालेले जनाएको छ । उम्मेदवारहरू र नेताबिच हुने छलफलबाट सर्वसम्मत प्रतिनिधि छनाेट गर्ने गरी तयारी भइरहेको अध्यक्ष राईले जानकारी दिए ।
एमाले खोटाङको इतिहासमा अहिलेसम्म कुनै महाधिवेशनमा प्रतिनिधि छनाेट गर्दा चुनाव नभएको र यसपटक पनि सर्वसम्मत गरिने एमालेका पोलिटब्युरो सदस्य एवं जिल्ला इन्चार्ज विशाल भट्टराईले बताए । एमाले केन्द्रीय समितिले यही मंसिर १३ गते (शनिबार) बेलुकासम्ममा जिल्लाबाट प्रतिनिधिको नामावली टुंग्याएर पठाउन सर्कुलर जारी गरेको जनाइएको छ ।
‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित भक्तपुरमा यही मंसिर २७ गतेदेखि २९ गतेसम्म एमालेको राष्ट्रिय महाधिवेशन हुँदै छ । भक्तपुरस्थित सल्लाघारीमा हुने ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्षका लागि वर्तमान अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् ।