प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयबाट निकालिएका कर्मचारीले प्रधानमन्त्री स्वार्थ समूहको चंगुलमा फसेको टिप्पणी गरेका छन्।
बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै प्रदीप ज्ञवाली, आकृति घिमिरे र अरुण कटुवालले प्रधानमन्त्री कार्कीलाई स्वार्थ समूहको चंगुलबाट निस्कन आग्रह गरेका हुन्।
प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले श्रीमती र आफन्तलाई सचिवालयमा नियुक्ति दिएको उल्लेख गर्दै विज्ञप्तिमा भनिएको छ, ‘जब हामीले नातावादको विरोध गर्यौँ, तब मुख्य संदिग्धलाई नभई हामीलाई बर्खास्त गर्नुले सम्माननीय प्रधानमन्त्री कुनै एक व्यक्ति वा व्यक्तिगत स्वार्थसमूहको चंगुलमा परेको हामीलाई आभास भएको छ।’
आफूहरू सचिवालयमा हुनु र नहुनुले अर्थ राखेन भने पनि विषम परिस्थितिमा को व्यक्ति कस्तो स्वार्थबाट प्रेरित छ भन्नेमा ध्यान दिन प्रधानमन्त्री कार्कीलाई आग्रह गरेका छन्।
‘सम्माननीय प्रधानमन्त्रीज्यूले आफूलाई स्वार्थ समूहको चंगुलबाट निकाल्नैपर्छ र देशलाई नयाँ निकासको बाटोतर्फ लैजानको लागि हिम्मतका साथ काम गर्नुपर्छ,’ विज्ञप्तिमा भनिएको छ।

