हेटौँडामा ठुलो परिमाणको लागुऔषध ट्रामाडोलसहित एक अटोचालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा हेटौँडा– १३ बस्ने २७ वर्षीय सोनम मोक्तान रहेका प्रहरीले जनाएको छ।
मोक्तानलाई हेटौँडा उपमहानगरपालिका– १, तरकारी बजार क्षेत्रबाट नियन्त्रणमा लिएको मकवानपुर प्रहरीले जनाएको छ। बिहीबार बिहान राप्तीरोडबाट थानाभर्याङतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ह ०१२६ नम्बरको अटोमाथि शंका लागेपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले पिछा गरेको थियो।
प्रहरी टोलीले अटो रोकेर खानतलासी गर्दा सवारीभित्र लुकाइछिपाइ राखिएको १५ हजार ९६० क्याप्सुल ट्रामाडोल फेला परेको प्रहरीले जनाएको छ। मोक्तानलाई थप अनुसन्धान र कारबाहीका लागि आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।