एमाले महाधिवेशन : उद्घाटन भक्तपुरको सल्लाघारीमा, बन्दसत्र भृकुटीमण्डपमा

बिहिबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

एमालेको ११औँ महाधिवेशनको उद्घाटन समारोह भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने भएको छ । एघारौँ महाधिवेशन व्यवस्थापन समिति सचिवालयको बुधबार बसेको बैठकले महाधिवेशनको उद्घाटन सल्लाघारीस्थित खुला चौरमा हुने निर्णय गरेको हो । बन्दसत्र भने भृकुटीमण्डपमा हुनेछ । 

महासचिव शंकर पोखरेल संयोजक रहेको व्यवस्थापन समिति सचिवालयको बैठकमा तयारीसँग सरोकार राख्ने समितिका संयोजकहरू पनि सहभागी थिए । एमालेले २७ देखि २९ मंसिरमा ११औँ महाधिवेशन आयोजना गर्दै छ । उद्घाटन समारोहमा काठमाडौंमा इतिहासकै ठुलो सभा गर्ने एमालेले प्रचार गर्दै आएको छ । त्यसका लागि एमालेले बागमती, गण्डकी र मधेश प्रदेशलाई मुख्य आधार क्षेत्र मानेर व्यापक रूपमा जनपरिचालन गर्ने आन्तरिक तयारी अगाडि बढाएको छ । 

बैठकपछि प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भृकुटीमण्डपमा जनसमूह व्यवस्थापन गर्न साँघुरो भएकाले बैठकमा आएका सुझावअनुसार उद्घाटनस्थल परिवर्तन गरिएको जानकारी दिए । ‘काठमाडौंको भृकुटीमण्डपमा ठाउँ साँघुरो हुने भएपछि महाधिवेशनको उद्घाटन सत्र सल्लाघारीमा गर्ने निर्णय भएको छ, बन्दसत्रचाहिँ भृकुटीमण्डपमै गर्छौँ,’ उनले भने । 

बैठकले पार्टीको आसन्न महाधिवेशनको मुख्य नारा पनि तय गरेको छ । बैठकले ‘निर्णायक राष्ट्रिय शक्ति निर्माणको संकल्प : समृद्ध नेपाल र सुखी नेपाली हाम्रो गन्तव्य’ तय गरेको पनि गौतमले जानकारी दिए । बैठकमा महाधिवेशन तयारीका लागि बनेका १२ वटा समितिले आ–आफ्नो समितिको क्षेत्राधिकारभित्र रहेर गरिएका काम र गर्न बाँकी कामबारे जानकारी गराएका थिए । बैठकमा महाधिवेशनको लोगोबारे पनि छलफल भएको थियो ।

प्रतिनिधि छनोटका लागि देशैभर उम्मेदवारी
महाधिवेशन प्रतिनिधि छनोटका लागि बुधबार देशैभर आकांक्षीले उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधि छनोटका लागि लगभग सबै जिल्ला, प्रवास क्षेत्र, जनसंगठन, केन्द्रीय विभाग र केन्द्रीय निकायमा हजारौँले उम्मेदवारी दिएका छन् । सबैजसो क्षेत्रमा आवश्यकभन्दा कम्तीमा तीनदेखि सात गुणा बढीसम्म उम्मेदवारी परेको छ । 

एमालेमा ६ लाख ७० हजार संगठित सदस्य छन् । सर्वसम्मत नहुने जिल्लामा पार्टी सदस्यहरूले छनोटका लागि मतदाताका रूपमा भाग लिनेछन् । अध्यक्षमा तेस्रोपटक नेतृत्व सम्हाल्ने केपी ओलीले इच्छा देखाएपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उनलाई चुनौती दिँदै मंगलबार उम्मेदवारी घोषणा गरेका थिए । पूर्वराष्ट्रपति विद्या भण्डारीको समर्थनमा पोखरेलले अध्यक्षमा तयारी गरेका कारण पनि प्रतिनिधि छनोटबाटै देशैभर ओली र भण्डारी समूहको नाममा प्रतिस्पर्धा सुरु भएको छ । 

प्रचार विभागका प्रमुख गौतमले नै प्रतिनिधि छनोटमा सबैतिर चुनावी प्रतिस्पर्धा हुने बताए । उनले छनोट प्रक्रिया सकिएर परिणाम नआएसम्म आकलन गर्न छिटो हुने भए पनि कार्यकर्ताको मनोभावना जितेर पार्टीको नीति र विधि स्थापित गर्ने गरी नै प्रतिनिधि चुनिएर आउने बताए । ‘प्रतिनिधि छनोटको मुख्य दिन १३ मंसिर हो । तर, विभिन्न जिल्ला, विभागहरूमा छनोट प्रक्रिया आरम्भ भइसकेको छ,’ गौतमले भने, ‘कस्ता, कसरी प्रतिनिधि आउलान् पूर्वआकलन छिटो हुन्छ, तर पार्टीको नीति र विधि स्थापित गर्ने गरी प्रतिनिधि आउँदै छन् ।’
 

सुझावित समाचार