आगामी चैतभित्रै संसद् भवन निर्माण पूरा गर्न भौतिक पूर्वाधारमन्त्री घिसिङको निर्देशन

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

संसद् भवन निर्माणमा लापरबाही नगर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकासमन्त्री कुलमान घिसिङले निर्देशन दिएका छन् । बुधबार साँझ सिंहदरबारपरिसरमा निर्माणाधीन संघीय संसद् भवनको आकस्मिक निरीक्षणमा पुगेका घिसिङले यस्तो निर्देशन दिएका हुन् । 

निरीक्षणका क्रममा मन्त्री घिसिङले रातको समयमा त्यहाँ भइरहेको कामबारे जानकारी लिएका थिए । आगामी २१ फागुनको चुनावपछि आउने नयाँ प्रतिनिधिसभाको पहिलो बैठक बस्ने स्थान नै नभएको अवस्थामा मन्त्री घिसिङले पटकपटक तीन सिफ्टमा काम गराउन सहरी विकास मन्त्रालयका अधिकारी र निर्माण व्यवसायीयलाई निर्देशन दिएका थिए । तर, आकस्मिक भ्रमणका क्रममा मन्त्री घिसिङले तीन सिफ्टमा काम गर्ने भनिए पनि फिल्डमा नदेखिएको बताए ।

उनले तीन सिफ्टमा काम गरी निर्माण सम्पन्न नगरेमा निर्माण व्यवसायीलाई कारबाही गर्ने चेतावनीसमेत दिए ।  त्यस्तै, घिसिङले नियमित सुपरिवेक्षण गर्ने आयोजना व्यवस्थापन र परामर्शदातालाई पनि कारबाही गरिने बताए । संसद् भवन निर्माण एकदमै महत्त्वपूर्ण भएकाले आगामी चैतअगाडि नै निर्माण सम्पन्न हुनुपर्ने उनको भनाइ छ । मन्त्री घिसिङले उक्त समयमा निर्माण सम्पन्न नभएमा लापरबाही गर्ने सबैलाई कारबाही गरिने चेतावनी दिए । 

संसद् भवन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी असोज ०७६ मा ठेक्का सम्झौता भएको थियो । पाँचौँपल्ट थपिएको ठेक्का सम्झौताको म्याद आगामी १६ पुसमा सकिँदै छ ।

आयोजनाको सिभिललगायतका संरचना निर्माण प्रगति करिब ८७ प्रतिशत रहेको छ । इन्टेरियर, सुरक्षा प्रणालीलगायतका काम गर्न २०८० मा अर्को ठेक्का सम्झौता भएको थियो ।

यस प्याकेजको निर्माण प्रगति ३० प्रतिशत रहेको छ । यसअघि ८ कात्तिकमा स्थलगत अनुगमन गरी निर्माण भइरहेको भवनहरूमध्ये सबैभन्दा ठुलो र महत्त्वको परियोजना रहेकाले १६ पुसभित्र सम्पन्न सुनिश्चित हुने गरी हरेक दिनको कार्यतालिका बनाएर काम गर्न आग्रह गरिएको थियो । धेरै मिहिनेत नगरिएमा तोकिएको समयमा निर्माण सम्पन्न हुन गाह्रो रहेकाले हरेक दिनको बेलुका निर्माण कार्य प्रगतिको समीक्षा गरी सोहीअनुसार आवश्यक स्रोतसाधन परिचालन गर्न निर्देशन दिँदै उनले निर्माण कार्यको आफैँले समेत नियमित अनुमगन गर्ने बताए । 

सुझावित समाचार