एमसिसी परियोजनामा भौतिक निर्माण सुरु, अर्थमन्त्री र अमेरिकी राजदूतले गरे उद्घाटन

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

कार्यान्वयनमा प्रवेश गरेको सवा दुई वर्षपछि मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुदानअन्तर्गतका परियोजनामा भौतिक निर्माण सुरु भएको छ।

एमसिसी अनुदानमा ३१५ किलाेमिटरका ४०० केभी क्षमताका चार प्रसारणलाइन, ४०० केभीका तीन प्रसारणलाइन र दुई सडक मर्मत आयोजना छन्। त्यसमा पहिलो चरणमा न्यु बुटवल सबस्टेसन र १८ किलाेमिटर लामो न्यु बुटवल–नेपाल–भारत सीमा प्रसारणलाइनमा भौतिक निर्माणको काम सुरु भएको हो।

कार्यान्वयन गर्ने निकाय एमसिए–नेपालले बुधबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित एक समारोहबिच न्यु बुटवल सबस्टेसन र १८ किलाेमिटर प्रसारणलाइन निर्माण कार्यको शुभारम्भ गरेको हो। कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिनआर थम्पसन, एमसिसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, एमसिए–नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो।

सो अवसरमा अर्थमन्त्री खनालले स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग पुर्याउने नेपाल सरकारको सशक्त प्रतिबद्धता यस आयोजनामा प्रतिबिम्बित भएको बताए।

राजदूत थम्पसनले यो गर्वको विषय भएको उल्लेख गर्दै भने, ‘प्रसारणइन तथा सबस्टेसनजस्ता आयोजनाहरूले घरपरिवार तथा व्यवसायहरूका बत्ती बाल्नमा मात्र सघाउने नभई यस क्षेत्रभरि नै व्यापार, वृद्धि तथा प्रगतिका लागि अवसरहरू पनि सिर्जना गर्छ। आजको यो कार्यक्रम हामी सहकार्यबाट के–कति हासिल गर्न सक्छौँ भन्ने कुराको प्रमाण हो।’

१८ किलाेमिटर प्रसारणलाइनले ४०० केभी न्यु बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्नेछ। करिब पाँच करोड अमेरिकी डलरको लगानीमा यी परियोजना निर्माण गरिँदै छ। यसले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्ने लक्ष्यलाई सहयोग पुर्याउने बताइएको छ।

See More On

सुझावित समाचार