धनगढीमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका जेन–जी युवामाथि नेकपा एमालेको भ्रातृ संगठन युवासंघका कार्यकर्ताले आक्रमण गरेका छन्। युवासंघका कार्यकर्ताको कुटाइबाट केही युवालाई चोटपटक लागेको छ। धनगढी रंगशालाअगाडि सडकछेउको फुटपाथमा उभिएर शान्तिपूर्ण प्रदर्शन गरिरहेकाहरूमाथि युवासंघका कार्यकर्ताले ठुलो संख्यामा उपस्थित प्रहरीकै अगाडि कुटपिट गरेका हुन्।
एमाले नेता महेश बस्नेतलाई स्कर्टिङ गरिरहेका कार्यकर्ताले प्रहरीको सुरक्षा घेरा तोड्दै युवाहरूमाथि हेलमेट, लाठी प्रहार गरेका थिए। आक्रमणमा जेन–जी अगुवा सरिता जोशी घाइते भएकी छिन्। हातमा चोट लागेपछि उनलाई उपचारका लागि निसर्ग अस्पताल भर्ना गरिएको छ। आक्रमणबाट अर्का युवा गोपाल बोहराको गर्धनपछाडि चोट लागेको छ।
एमालेका नेता बस्नेत धनगढी आउन लागेको थाहा पाएपछि उनीविरुद्ध जेन–जी युवाहरू बिहानैबाट सडकछेउमा उभिएर प्रदर्शन गरिरहेका थिए। युवासंघको आयोजनामा धनगढीमा हुने युवा जागरण अभियानमा सहभागी हुन धनगढी आएका बस्नेतलाई धनगढी विमानस्थलबाट युवासंघका कार्यकर्ताले मोटरसाइकल स्कर्टिङ गरेर ल्याउँदै थिए।
2025-11-26-04-32-53.jpeg)
स्कर्टिङसहित बस्नेतको गाडीअगाडि पुगेपछि फुटपाथमा उभिएका जेन–जी युवाहरूले ऊनीविरुद्ध नाराबाजी गरेका थिए। त्यस क्रममा मोटरसाइकल रोकेर युवासंघका कार्यकर्ताले करिब ३०–४० को संख्यामा रहेका जेन–जी युवाहरूमाथि आत्रमण गरेका हुन्। प्रदर्शनकारीलाई घेरेर राखेको ठुलो संख्यामा रहेका सशस्त्र प्रहरी र नेपाल प्रहरीले युवा संघका कार्यकर्तालाई रोक्न सकेन। जेन–जी युवाहरूमाथि आक्रमण हुँदा बस्नेत चढेको गाडी कार्यक्रमस्थलतिर गएको थियो।
शान्तिपूर्ण प्रदर्शन गरिरहेका वेला आफूहरूमाथि आक्रमण गरिएको जेन–जी युवा गोपाल साउदले बताए। ‘हामीले कसैमाथि ढुंगामुढा गरेका थिएनौँ, उभिएर प्रदर्शन गरिरहेका थियौँ,’ उनले भने, ‘महेश बस्नेतलाई ल्याएर मोटरसाइकमा आएका युवाहरूले आक्रमण गरे।’ आफूहरूमाथि कुटपिट हुँदा सशस्त्र प्रहरी र नेपाल प्रहरी मूकदर्शक बनेको उनको आरोप छ।
‘ठुलो संख्यामा रहेका प्रहरीले सडकपट्टि हामीलाई घेरा हालेर राखेका थिए। प्रहरीकै घेरा तोडेर आक्रमण हुँदा उनीहरूले केही गरेनन्,’ अर्का युवा विष्णु खड्काले भने। मोटरसाइकलमा युवासंघको झन्डा बोकेका एमाले कार्यकर्ताले त्यही झन्डाको लाठीले आफूमाथि कुटपिट गरेको खड्काले बताए।