सल्यानको शारदा नगरपालिकामा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा सात सयभन्दा बढी लाभान्वित भएका छन् । नगरपालिकाका विभिन्न वडामा एक हप्ता चलेको शिविरमा ७५७ जनाले सेवा लिएका छन् ।
शारदा नगरपालिका स्वास्थ्य शाखाका अनुसार नगरपालिकाका सात स्थानमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ३११ पुरुष र ४४६ महिला गरी ७५७ जनाले सेवा लिएका छन् । जसमध्ये १३२ जनामा मोतियाविन्दु भेटिएको र उनीहरूको आँखा उपचार केन्द्र शीतलपाटीमा निःशुल्क शल्यक्रिया गर्ने गरी रिफर गरिएको शारदा नगरपालिका स्वास्थ्य शाखाका रविन विष्टले जानकारी दिए । जटिल समस्या भएका ५३ जनालाई राप्ती आँखा अस्पताल दाङ रिफर गरिएको उनकाे भनाइ छ ।
शारदा नगरपालिकाको आयोजना र नेपाल नेत्र ज्योति संघ राप्ती आँखा अस्पताल तुलसीपुरको प्राविधिक सहयोगमा नगरपालिकाको वडा नं. २, ५, ६, ९, ११, १३ र १४ वडामा शिविर सञ्चालन गरिएको थियो । शिविरमा आँखामा समस्या भई कम दृष्टि देख्ने १८१ जनालाई निःशुल्क चस्मासमेत वितरण गरिएको छ ।
दुर्गम क्षेत्रमा रहेका नागरिकहरूलाई आफ्नै गाउँघरमा सेवा प्रदान गर्ने उद्देश्यका साथ शिविर सञ्चालन गरिएको विष्टको भनाइ छ । उनले भने, ‘आर्थिक तथा हिँडडुलमा समस्या हुँदा आँखा अस्पतालसम्म पुग्न नसक्ने बिरामीलाई गाउँघरमा सेवा प्रदान गर्ने योजनाअनुसार यो शिविर सञ्चालन गरेका हाैँ ।’