विवादमा रहेकाे मधेश प्रदेश सरकारले किसान र युवालक्षित विभिन्न लोकप्रिय कार्यक्रमहरू सार्वजनिक गरेको छ। प्रदेश सरकारले किसान र युवालक्षित विभिन्न कार्यक्रम ल्याउने तयारीमा रहेको मुख्यमन्त्री सुरजकुमार यादवले सार्वजनिक गरेका हुन् । मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार बिहान पत्रकार सम्मेलन गरी किसान तथा युवामैत्री कार्यक्रम ल्याउने तयारीमा रहेको जानकारी गराएका हुन् ।
प्रदेश सरकारले १८–३५ वर्ष उमेर समूहका स्नातक उत्तीर्ण बेरोजगार युवालाई प्रतिमहिना दुई हजार रुपैयाँ जीवन निर्वाह भत्ता दिने कार्यक्रम ल्याउने तयारी गरेको उनले बताए । त्यसैगरी, सरकारले प्राकृतिक विपतकाे कारण बालीनालीमा क्षति भएका किसानलाई प्रतिकठ्ठा १५ सय का दरले राहत वितरण गर्ने प्रक्रिया पनि अघि बढाएको जनाएको छ। सरकारले यससँगै जनकपुरधाममा हुने विवाहपञ्चमी महोत्सवलाई व्यवस्थित बनाउन अतिथि सत्कार तथा व्यवस्थापन समिति ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री लखन दासको संयोजकत्वमा समिति गठन गरिएको उनले बताए ।
यस्तै, मल आपूर्ति तथा वितरणमा देखिएको अभाव र कालोबजारी नियन्त्रणका लागि आठै जिल्लामा कडा अनुगमन गर्ने निर्णय पनि गरिएको छ। ९० दिनभित्र मल नबिक्ने सहकारी तथा विक्रेताको कोटा खारेज गरी अन्यलाई दिने व्यवस्था गरिनेछ। यी कार्यक्रमहरू आफ्नो सरकारले निरन्तरता पाएको खण्डमा गर्ने उनले जानकारी दिए। सरकारको विषयमा भोलि बिहीबार हुने अन्तरिम सुनुवाइ आफ्नो पक्षमा आउने उनले विश्वास गरे।
अदालतको फैसला आफ्नो पक्षामा भए आफूले सहज रूपमा विश्वासको मत पाउने उनले दाबी गरे। नेपाली कांग्रेस, जनमत पार्टीसहितसँग सरकारको विषयमा कुराकानी भइरहेकोसमेत उनले खुलाए। आफ्नो नेतृत्वमा सरकार संवैधानिक बाध्यतावश भएको र यो सरकारलाई विश्वासको मत नदिए प्रदेश प्रदेशमा राजनीतिक संकट उत्पन्न हुन सक्ने उनले दाबी गरे। यता, नेपाली कांग्रेससहित सात दलले मधेश सरकार असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा दायर गरिसकेका छन् ।