वरिष्ठ अधिवक्ता मीरा ढुंगानालाई ३ प्रश्न

बुधबार, ११ मंसिर, २०८२
डिजिटल संस्करण

पछिल्लो समय नेपालमा महिला हिंसाको अवस्था कस्तो छ ? 
महिलामाथि हुने हिंसामा खासै सुधार भएको छैन, पहिलेकै जस्तो अवस्था छ । खासगरी शक्तिमा पुगेका मानिसहरूमा गम्भीरता पटक्कै नहुनाले पनि यो समस्या ज्यूँका त्यूँ रहेको हो । कसुरदारहरूकै पक्षमा बोल्नेहरू नै शक्तिमा पुगेपछि कसरी न्यूनीकरण होस् त महिलामाथि हुने हिंसा ? शक्तिमा पुग्नेहरूमा मानवता र संवेदनशीलता नभएपछि ठुलो परिवर्तनको अपेक्षा राख्नुको के नै अर्थ रहन्छ र ?

महिला हिंसा न्यूनीकरणमा लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको कस्तो प्रभाव रहन्छ ?
यस्ता अभियानहरूले पक्कै पनि केही न केही सकारात्मक प्रभाव छाड्छन् । गाउँगाउँसम्म पुग्ने हुनाले यस्ता अभियान जहिल्यै महŒवपूर्ण हुन्छन् । तर, यस्ता अभियानलाई केवल कर्मकाण्डमा सीमित गर्ने प्रयास भने गरिनु हुँदैन ।

महिला हिंसा न्यूनीकरणका चुनौती के–के हुन् ?
हाम्रो समाजको पितृसत्तात्मक सोच र वैवाहिक परम्पराहरू पनि यसका चुनौती हुन् । छोरीलाई पराई घरको नासोका रूपमा हेर्ने र सानै उमेरमा विवाह गरिदिने समस्या हाम्रो समाजमा अझै कायम छ । बुहारीका समस्यालाई समस्या नै नमान्ने अवस्था अझै छ । समाजमा छोरै हुनुपर्ने, छोराले मात्र तार्छ भन्ने गलत सोच कायमै छ । साथै, छोरा या छोरी जन्मिने महिलाकै कारण हो भन्ने गलत सोचका कारण बहुविवाहका घटना अझै पनि भइरहेका छन् । राजनीतिक रूपमा महिलाहरू निर्णायक तहमा पुग्न नसक्नु पनि अर्को समस्या हो । केही जिम्मेवार पदमा पुगेका सीमित महिलाले वर्तमान शक्ति संरचनामा महिलाका हितमा चाहेर पनि काम गर्न सक्ने अवस्था छैन । कानुनले सम्पत्तिमाथि महिलाको अधिकार सुनिश्चित गरे पनि कार्यान्वयन निकै फितलो छ । त्यसैले पनि महिलामाथिका हिंसाका घटनामा उल्लेख्य सुधार हुन नसकेको हो । 

सुझावित समाचार