करणको आक्रामक ब्याटिङमा काठमाडौंले लुम्बिनीलाई दियो १५८ रनकाे लक्ष्य

मंगलबार, १० मंसिर, २०८२
डिजिटल संस्करण
करणको आक्रामक ब्याटिङमा काठमाडौंले लुम्बिनीलाई दियो १५८ रनकाे लक्ष्य

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

काठमाडौं गोर्खाजले दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को ११औँ खेलमा लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ।

मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५७ रनको योगफल बनाएको हो।

१९औँ ओभरमा रुवेन ट्रम्पलमेनले ३१ रन खर्चिएपछि काठमाडौंले सम्मानजनक स्कोर खडा गर्यो। नवौँ नम्बर क्रिजमा आएका करण केसीले ११ बलमा अविजित ३४ रन बनाए। उनले एक चौका र चार छक्का हिर्काए।

काठमाडौंका ओपनर आकाश त्रिपाठीले ३२ रन  जोडे। ३६ बल सामना गरेका उनले तीन चौका प्रहार गरे। सन्तोष यादवले १६ बलमा २६ रन बनाए। उनले दुई छक्का प्रहार गरेका थिए। जेरार्ड इरास्मसले १५ बलमा दुई चौकासहित १७ रन बनाउँदा मिलिन्द कुमारले पनि २० बलमा एक चौकासहित १७ रन नै टोलीका लागि योगदान गरे । रसिद खानले १० ओभरमा दुई चौकासहित १४ रन बनाए।

सन्तोष र इरास्मसले छैटौँ विकेटको लागि २६ बलमा ३६ रनको साझेदारी गरे। यस्तै, आकाश र मिलिन्दले तेस्रो विकेटको लागि ३१ रनको दोस्रो ठुलाे साझेदारी गरे। करण र आदिल आलमले नाै बलमा ३४ रनको साझेदारी गरेका थिए।

यसअघि शेर मल्लले ओपनर बेन चार्ल्सवर्थलाई डकआउट गरेका थिए। सात रन बनाएका जन सिम्पसनलाई रोहितकुमार पौडेलले आफ्नै बलमा क्याचआउट गराएका थिए।

लुम्बिनीका लागि शेर मल्ल, रुवेन ट्रम्पलमेन,  रोहित र गुल्वादिन नाइवले समान दुई विकेट लिए। अभिषेक गौतम, तिलक भण्डारी र डार्सी सर्ट भने विकेटविहीन भए।

तेस्रो खेल खेलिरहेको काठमाडौं दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा काठमाडौंले जनकपुरलाई पाँच विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा सुदूरपश्चिम रोयल्ससँग २९ रन र विराटनगर किंग्सविरुद्ध पाँच विकेटले पराजित भएको थियो।

लुम्बिनी पनि दोस्रो जितको खोजीमा छ। लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले पराजित गरेको थियो। दोस्रो खेलमा भने कर्णाली याक्ससँग नाै विकेटले पराजित भएको थियो।

सुझावित समाचार