संखुवासभामा ६ जना उद्योगी–व्यवसायी सम्मानित

मंगलबार, १० मंसिर, २०८२
डिजिटल संस्करण

११औँ राष्ट्रिय उद्योग दिवसको अवसरमा संखुवासभाका ६ जना उद्योगी–व्यवसायी सम्मानित भएका छन् ।

 ‘औद्याेगिक वातावरणमा सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नारासहित मंगलबार सदरमुकाम खाँदबारीमा राष्ट्रिय उद्योग दिवस मनाइएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै कोशी प्रदेश सदस्य विदुरकुमार लिङथेपले समृद्ध मुलुक र बलियो अर्थतन्त्र बनाउन आमनागरिक व्यवसायमा लाग्नुपर्ने बताए । उनले उद्योग र व्यवसायले नै मानिसलाई समृद्ध बनाउने बताए ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला उद्योग प्रवर्द्धन समन्वय समितिका संयोजक सुमन शाक्यले उद्योगीहरूले उत्पादन गरेको वस्तु सरकारले बजारको सुनिश्चितता गरिदिनुपर्ने धारणा राखे । उनले बजारको सुनिश्चित भए मात्रै उत्पादन बढ्ने बताउँदै आफूहरूले सक्दो सहयोग र समन्वय गर्ने बताए । 

संखुवासभाकी प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले सरकार जहिल्यै पनि उद्योगी–व्यवसायीहरूको संरक्षणका लागि नै काम गर्दै आएको बताइन् । 

खाँदबारी नगरपालिकाका उपप्रमुख महेश्वरा बज्राचार्यले महिलाले साना तथा घरेलु उद्योग आफैँले सञ्चालन गरी आत्मनिर्भर बन्नुपर्नेमा जोड दिइन् । संखुवासभा उद्योग वाणिज्य संघका अध्यक्ष डेगराज बस्नेतले गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले उद्योगी–व्यवसायीहरूले घाटा व्यहोर्नुपरेको बताए ।  

उक्त कार्यक्रममा जिल्लाभरका विभिन्न ठाउँमा उद्योग तथा व्यवसाय खोली आत्मनिर्भर बनेका उत्कृष्ट ६ जना उद्योगीहरूलाई नगद पाँच हजार रुपैयाँसहित दोसल्ला र सम्मानपत्रद्वारा सम्मानित गरिएको थियो । सम्मानित हुनेहरूमा खाँदबारी नगरपालिका– ८ मा होहोरेम अल्लो तथा सुती कपडा उद्योग सञ्चालन गर्दै आएकी दिलमाया राई, सिलिचोङ गाउँपालिका– ५ मा याफू नमुना कृषि तथा पशुफर्म सञ्चालन गर्दै आएका जितेन्द्र राई, चैनपुर नगरपालिका– २ मा सिद्धकाली मौरीपालन उद्योग सञ्चालन गर्दै आएका रिन्जी शेर्पा सम्मानित भएका छन् ।

त्यसैगरी, खाँदबारी नगरपालिका– ४ स्थित पांमाली सुकुटी तथा अचार उद्योग सञ्चालन गर्दै आएका रोहित राई र मनकामना एकीकृत कृषि तथा पशुपन्छी अनुसन्धान केन्द्र सञ्चालन गर्दै आएका ठाकुरबहादुर ढकाल सम्मानित भएका हुन् । 
 

सुझावित समाचार