प्रतिनिधिसभाको २१ फागुनमा हुने निर्वाचनमा भाग लिन ६४ पार्टीले दल दर्ताका लागि निवेदन दिएका छन् । सोमबार नेत्रविक्रम चन्द विप्लवको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)सहित सात दलले निवेदन दिएका छन् । आयोगले प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि १० मंसिरसम्म निवेदन लिने, ११ देखि १८ गतेसम्म छानबिन गर्ने र २० गते दर्ता स्वीकृत गरेर निर्वाचन प्रयोजनका लागि दर्ता भएका दलहरूको नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
आयोगका सहायक प्रवक्ता सीता पुन श्रीसका अनुसार सोमबार देवप्रकाश त्रिपाठीको नागरिक शक्ति नेपाल, रञ्जिता श्रेष्ठको नागरिक उन्मुक्ति, खड्गबहादुर देवानको मितेरी पार्टी नेपाल, तुलसीराज गिरीको प्रगतिशील समाजवादी पार्टी, नेत्रबहादुर चन्द विप्लवको नेपाल कम्युनिस्ट पार्टी (माओवादी), वृषेशचन्द्र लालको तमलोपा, रमणकुमार कर्णको जनादेश पार्टी नेपालले निवेदन दिएका छन् ।
आइतबार मोतीलाल भारतीको नेपाल समावेशी पार्टी, शेरबहादुर देउवाको नेपाली कांग्रेस, रामकुमार राईको खम्बुवान राष्ट्रिय मोर्चा, सुशीलचन्द्र अधिकारीको नेपालका लागि नेपाली पार्टी, पुण्यप्रसाद प्रसाईंको सचेत नेपाली पार्टी, सिंमान तामाङको जनप्रिय लोकतान्त्रिक पार्टी, राजेन्द्र साहको राष्ट्रिय विकास पार्टी, थमनबहादुर बुढामगरको नेसनल रिपब्लिक नेपाल, मुस्कान पौडेलको युनाइटेड नेपाल डिमोक्र्याटिक पार्टी, सुरेशकुमार कार्कीको जय मातृभूमि पार्टी, गंगालाल श्रेष्ठको नेपाल नौलो जनवाद पार्टी, हर्कराज राईको श्रम संस्कृति पार्टी, महन्थ ठाकुरको लोसपा नेपाल, सत्यवानकुमार सिंहको स्वाभिमान पार्टी, ज्ञानबहादुर तामाङको जनप्रजातान्त्रिक पार्टी, हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी नेपाल दर्ता लागि आयोग पुगेका थिए ।
यसअघि शुक्रबार रुक्मिणी चौधरीको संघीय नेपाल पार्टी, सिके राउतको जनमत पार्टी, दिनेशराज प्रसाईंको गतिशील लोकतान्त्रिक पार्टी, कृष्णकुमार राईको नेपाली जनश्रमदान संस्कृति पार्टी, कबिर सोपको नागरिक उन्मुक्ति पार्टी नेपाल, भूपि राईको राष्ट्रिय साझ पार्टी, रमेश नाल्भोको परिवर्तन पार्टीले निर्वाचनमा भाग लिन दल दर्ताको निवेदन दिएका थिए ।
निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १३५ पुगेको छ । आयोगले सोमबार तीन दल दर्ता गरेको छ । आयोगका कानुन तथा राजनीतिक महाशाखाका अनुसार अझै २२ नयाँ दल दर्ताको प्रक्रियामा छन् ।