जेन–जी आन्दोलनका कारण स्थगित भएको विदेशी नागरिकलाई ट्रयाक गर्ने प्रणाली आगामी १ जनवरी (१७ पुस) बाट पुन: सञ्चालनमा आउने भएको छ । यसअघि गत १ असोजबाट यो प्रणाली लागू गर्ने भनिए पनि रोकिएको थियो । अध्यागमन विभागका अनुसार कार्यान्वयनको नयाँ मिति घोषणासँगै प्रणालीको नाम पनि परिवर्तन गरिएको छ । यसअघि प्रणालीको नामम ‘विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली (एफएनआरटिएस)’ राखिएको थियो । अहिले भने यसको नाम ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएन–एमआइएस)’ राखिएको छ ।
‘ट्रयाकिङ’ शब्दावलीले फरक सन्दर्भ बोक्ने भएकाले प्रणालीको नामावलीमा केही सुधार गरिएको अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । ‘जेन–जी आन्दोलनपछि स्थगित भएको विदेशी नागरिकको सूचना व्यवस्थापन गर्ने प्रणाली आगामी १ जनवरीबाट पुन: कार्यान्वयनमा आउने भएको छ । यसका लागि आवश्यक सबै तयारी पूरा भएका छन् । प्रणालीको नामावलीमा केही सुधार गरी ‘ट्रयाकिङ’ शब्दावलीको ठाउँमा ‘व्यवस्थापन’ राखिएको छ । काम गर्ने प्रणाली उही हो,’ उनले भने ।
नेपालमा विनाभिसा र भिसा दुरुपयोग गरी बस्ने विदेशी नागरिकको संख्या बढेपछि विभागले यो प्रणाली कार्यान्वयनमा ल्याउन खोजेको हो । विभागका अनुसार नेपालमा अहिले आठ हजार २०६ जना विदेशी नागरिक विनाभिसा बसिरहेका रहेका छन् । तर, उनीहरू बसेको ठाउँ र गरिरहेका कामको सम्बन्धमा विभाग अनभिज्ञ छ । त्यस्ता नागरिकलाई सूचना प्रणालीभित्र समेट्न एफएन–एमआइएस प्रणाली कार्यान्वयन गर्न खोजिएको विभागका प्रवक्ता टीकाराम ढकालले बताए ।
‘नेपालमा अझै पनि आठ हजारभन्दा धेरे विदेशी नागरिक विनाभिसा बसिरहेको सूचना छ । भिसा प्रयोजनविपरीत पनि विदेशी नागरिक बसिरहेका छन् । त्यस्ता नागरिकको सूचना संकलन गर्ने र आवश्यक परे कारबाही गर्ने उद्देश्यले एफएन–एमआइएस प्रणाली लागू गर्न खोजिएको हो,’ उनले भने ।
विभागका अनुसार प्रणाली कार्यान्वयनका लागि होटेल एसोसिएसन नेपाल (हान), ट्रेकिङ एजेन्सी अफ नेपाल (टान), होटेल तथा पर्यटन व्यवसायी संघ नेपाललगायतका संघसंस्था राजी भइसकेका छन् । यसका लागि विभागले गत २२ भदौमा प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डमा बृहत् छलफल गरेको थियो । त्यसको भोलिपल्टै देशव्यापी जेन–जी आन्दोलन भयो । र, विभागको योजना स्थगित हुनपुग्यो ।
विभागका अनुसार विशेष गरी पर्यटन र बिजनेस भिसामा नेपाल बस्ने विदेशी नागरिकको गतिविधि शंकास्पद देखिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा १२ लाख विदेशी नागरिक पर्यटन भिसामा भित्रिएका छन् । जसमध्ये चार सयभन्दा धेरै विदेशी नागरिकको गतिविधि शंकास्पद देखिएको अध्यागमनले जनाएको छ । त्यस्तै, बिजनेस भिसा लिएर नेपाल बसेको नागरिकको संख्या करिब चार हजार छ । त्यसमध्ये ५० प्रतिशत अर्थात् झन्डै दुई हजार विदेशी नागरिकको गतिविधि शंकास्पद देखिएको छ । ‘यहाँ विदेशी नागरिक लगानी भिœयाउने भन्दै बिजनेस भिसा लिन्छन् । तर, उनीहरूले न लगानी भिœयाउन सकेका छन्, न उनीहरूको गतिविधि नै ठिक देखिएको छ । त्यस्ता व्यक्तिहरूलाई सूचना प्रणालीभित्र ल्याएर कारबाही गर्न आवश्यक छ । यसैका लागि हो, एफएन–एमआइएस,’ विभागका प्रवक्ता ढकालले भने ।
अध्यागमन नियमावली, ०५१ को नियम २०(१)मा पर्यटन भिसा लिएर नेपाल बस्ने विदेशी नागरिक वा परिवारका सदस्यलाई पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न बन्देज गरेको छ । ‘नियमावलीबमोजिम पर्यटक र परिवारको सदस्यको हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउनेछैन । नियमावलीबमोजिम भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको निमित्त भिसा प्राप्त गरेको हो, सोबाहेक अन्य काम गर्न पाइनेछैन,’ नियममा भनिएको छ ।
यसरी हुन्छ ट्रयाकिङ
विदेशी नागरिक नेपालमा प्रवेश गरेलगत्तै सम्पर्कमा पुग्ने पहिलो निकाय अध्यागमन कार्यालय हो । त्यसपछि होटेल हो । ट्राभल्स एन्ड टुर, मनी एक्सचेन्ज त्यसपछि जोडिने निकाय हुन् । सोही क्षेत्रलाई प्रयोग गरी विभागले विदेशी नागरिक ट्रयाक गर्न खोजेको थियो । यसैका लागि विभागले ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (एफएन–एमआइएस)’ विकास गरेको हो । विभागका अनुसार एफएन–एमआइएसबाट दुई तरिकाले विदेशी नागरिकमाथि ट्रयाकिङ गर्न सकिन्छ । पहिलो, विभागले बनाएको एप्समार्फत र दोस्रो होटेलमार्फत । विभागले विदेशी नागरिकका लागि भिसा अप्लाई गर्न डिपार्टमेन्ट अफ इमिग्रेसन नामको एप विगतदेखि नै सञ्चालनमा ल्याएको छ । अध्यागमन कार्यालयमा पुग्न साथ कुनै पनि विदेशी नागरिकले विभागको एप्समा आफ्नो विवरण एड गर्न सक्छ । त्यसलगत्तै विभागले उसलाई एउटा क्युआर कोड उपलब्ध गराउँछ । सोही कोड लिएर ऊ होटेल पुग्छ ।
होटेलमा उसले फाराम भर्नुपर्दैन, सोही कोड देखाए पुग्छ । होटेलमा रहेको डिभाइसले कोड रिड गर्छ । जसको विवरण एफएनआरटिएसमा स्वत: दर्ता हुन्छ । होटेलबाट चेक आउट हुँदा पनि विदेशी नागरिकले सोही क्युआर होटेललाई दिन्छ । डिभाइसले रिड गरेलगत्तै त्यसको विवरण एफएनआरटिएसमा स्वत: दर्ता हुन्छ । क्युआर कोड नलिएका विदेशी नागरिकले भने सम्बन्धित होटेलमा आफ्नो पासपोर्टसहितको विवरण पेस गर्नुपर्छ । होटेलले सम्बन्धित व्यक्तिको विवरण विभागको एफएनआरटिएसमा चढाउँछ । र, तथ्यांक रजिस्टर हुन्छ । यो प्रणाली ट्राभल्स एन्ड टुर र मनी एक्सचेन्जमा पनि कार्यान्वयन गरिने हुँदा विदेशी नागरिकको पूरा अवस्थिति विभागको जानकारीमा रहन्छ । प्रणालीले भिसा सकिएको र दुरुपयोग भएको जानकारीसमेत विभागलाई गराउँछ ।