पूर्वी पहाडी जिल्ला संखुवासभामा एक वर्षमा दुई सय १ वटा व्यवसाय थपिएको छ। आर्थिक वर्ष २०८१/०८२ मा दुई सय १ वटा व्यवसाय थपिएको हो। संखुवासभामा स्वरोजगारतर्फ उन्मुख हुँदै व्यवसायीहरू बढेको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख प्रेमचन्द्र राईले बताए। उनको अनुसार, उद्योगतर्फ १ सय ४४ वटा र वाणिज्यतर्फ ५७ वटा गरी कुल दुई सय १ वटा व्यवसाय थपिएको हो। दुई सय १ वटा व्यवसाय थपिँदा २ सय ८६ जना पुरुष र २ सय २ जना महिला गरी ५ सय ६ जना स्वरोजगार बनेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ।
आर्थिक वर्ष २०८०/०८१ मा तीन हजार ६ सय १ वटा व्यवसाय दर्ता भएका थिए। त्यसमा आर्थिक वर्ष २०८१/०८२ मा दुई सय १ वटा व्यवसाय थपिएको हो। आर्थिक वर्ष २०८१/०८२ मा उद्योगतर्फ ५१ वटा र वाणिज्यतर्फ ५३ वटा गरी एक सय ४ वटा व्यवसाय खारेज गरिएको घरेलु तथा साना उद्योग कार्यालयका कार्यालय प्रमुख राईले बताए।
यो एक वर्षको अवधिमा जिल्लाका विभिन्न क्षेत्रमा उद्यम तथा व्यवसाय दर्ताको संख्या उल्लेखनीय रूपमा बढेको छ। विभिन्न सीप तथा उद्यमशीलता कार्यक्रममार्फत नागरिकहरू स्वरोजगार बन्न सफल भएका छन्। घरेलु तथा साना उद्योग कार्यालयबाट विभिन्न समयमा स्थानीयको मागअनुसार सीपमूलक तालिम, उद्यम विकास कार्यक्रम संचालन, सहुलियतपूर्ण अनुदान र प्रविधीमैत्री सेवा प्रवाहलगायतका विभिन्न कार्यक्रम र बजार पहुँच विस्तारसँगै युवाहरू स्वरोजगारतर्फ आकर्षित भएको कार्यालय प्रमुख राईको भनाइ छ। उद्यम दर्ता बढ्नु र स्वरोजगार बढ्नु दुवैले आर्थिक क्रियाकलापमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उनको भनाइ छ।
वैदेशिक रोजगारीमा जानेहरूको संख्या बढिरहेको समयमा आफ्नै ठाउँमा व्यवसाय दर्ता गरी उद्यमशीलततर्फ युवाहरू आकर्षित हुनु सकारात्मक काम भएको कार्यालय प्रमुख राई बताउँछन्। युवाहरुलाई देशमै रोक्न राज्यले अझै प्रभावकारी कार्यक्रमहरू लागू गर्नुपर्ने उनको भनाइ छ। यो वर्ष लागू गर्ने तयारीमा रहेका कार्यक्रमहरू समेत सरकारले २५ प्रतिशत काटेको बताउँदै यसरी कार्यक्रम काटिदाँ व्यवसायीहरूलाई कार्यक्रम दिन नसकिएको कार्यालय प्रमुख राईको भनाइ छ।