सन्दीप चम्किएपछि विराटनगरको जित

सोमबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण
सन्दीप चम्किएपछि विराटनगरको जित

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

मार्की तथा लेग स्पिनर सन्दीप लामिछाने चम्किएपछि विराटनगर किंग्सले दोस्रो नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्राे जित निकालेको छ। सोमबार त्रिवि क्रिकेट मैदानमा भएको लिगको नवौँ खेलमा विराटनगरले जनकपुर बोल्ट्सलाई नाै रनले हरायो। 

टस हारेर सुरुमा ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३६ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा जनकपुरले निर्धारित २० ओभरमा नाै विकेट गुमाउँदा मात्र १२६ रन बनाउन सक्यो।

प्रतियोगितामा जनकपर लगातार दोस्रो खेलमा पराजित भयो। टोली पहिलो खेलमा काठमाडौंसँग पाँच विकेटले पराजित भएको थियो। विराटनगर भने लगातार तेस्रो जित निकाल्न सफल भयो। उसले पहिलो खेलमा पोखरालाई ५३ रनले तथा दोस्रो खेलमा काठमाडौंलाई पाँच विकेटले पराजित गरेको थियो। यो जितपछि टोली तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

जनकपुरका लागि जान निकोल इटनले सर्वाधिक ४१ रन बनाए। उनले ३० बलमा चार चौका र एक छक्का हिर्काएका थिए। तर, दुई रन बनाउने क्रममा रनआउट हुन पुगेका हुन्। 

ओपनिङ ब्याटर लाहिरू मिलान्थाले २२ बलमा दुई चौका र एक छक्कासहित २३ रनको योगदान गरे। सञ्जय कृष्णमुर्थीले १२ बलमा तीन चौका र एक छक्कासहित २० रन बनाएका हुन्। मार्की आसिफ शेखले १३ रन बनाउँदा कप्तान अनिलकुमार शाह भने १४ बलमा मात्र चार रन बनाएर आउट भए। मयन यादव चार, रूपेश सिंह आठ, संगित कोरे डक, आदित्य महता एक रन मात्रै बनाएर आउट भएका थिए। 

जनकपुरका लागि इटन र रूपेश सिंहले २१ बलमा सर्वाधिक ३४ रनको साझेदारी गरेका थिए। 

विराटनगरका स्पिनर खेलमा हाबी भएका थिए। दुई स्पिनरले ६ विकेट लिएका थिए। कप्तान सन्दीप लामिछाने चार तथा सूर्य तामाङले समान दुई विकेट हात पारे।  सन्दीपले चार ओभरमा मात्र ११ रन खर्चिएका हुन्। सूर्यले २० रन खर्चिए। सुभम रन्जने र मार्चन्ट डी लिग्नेले एक विकेट लिएका हुन्। चार ओभर बलिङ गरेका नरेन भट्ट भने विकेटविहीन भए। दुई ओभर बलिङ गरेका प्रतिश जिसी र एक ओभर बलिङ गरेका बसिर अहमद पनि विकेटविहीन भए। 

पहिलो इनिङ्समा विराटनगरका लागि सुभम रन्जनेले सर्वाधिक ३७ रन बनाए। उनी  २९ बलमा दुई चौका र दुई छक्का बनाएपछि रनआउट भए।  बसिर अहमदले सर्वाधिक ३६ रन बनाएका थिए। रूपेश सिंहबाट बोल्ड हुनुअघि उनले ३५ बलमा तीन छक्का हिर्काए। ओपनर लोकेश बमले २६ बलमा २८ रनको योगदान गरे। उनले दुई चौका र एक छक्का बनाएका हुन्। रन्जने र बसिरबिच चौथो विकेटको लागि ५० बलमा सर्वाधिक ५२ रनको साझेदारी भएको थियो। 

ओपनर जर्ज मुन्सीले १० र मार्टिन गप्टिलले १३ रनको योगदान गरेका थिए। विराटनगरले पावर प्लेमा एक विकेट गुमाउँदै ४० रन बनाएको थियो। 

जनकपुरका रूपेश सिंह र सन्गिथ कुरेले समान दुई विकेट लिएका थिए। आदित्य महताले मात्र एक विकेट लिएका थिए। चार ओभर बलिङ गरेका अनिल शाह र ललित राजवंशीसहित दुई ओभर बलिङ गरेको सञ्जय कृष्णमुर्थी  र किशोर महतो विकेटविहीन भएका थिए। 

आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुनेछ। कर्णाली दोस्रो तथा सुदूरपश्चिम लगातार तेस्रो जित निकाल्ने दाउमा छन्।

सुझावित समाचार