जसपामा फुट : राजेन्द्र श्रेष्ठसहित ६ नेता नेकपा प्रवेश गर्ने

सोमबार, ९ मंसिर, २०८२
डिजिटल संस्करण

गठन भएको डेढ वर्षमा जसपामा विभाजन आएको छ । ०८१ वैशाखमा उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट विभाजित भएर तत्कालीन संघीय परिषद् अध्यक्ष अशोक राईको नेतृत्वमा जसपा गठन भएको हो । अहिले फेरि संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ जना केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूले जसपा परित्याग गरी नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण र ध्रुवीकरणको दिशामा अघि बढ्ने घोषणा गरेका छन् ।

श्रेष्ठसहित केन्द्रीय समिति उपाध्यक्षहरू रणध्वज लिम्बू (कन्दङ्वा) र परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोग अध्यक्ष कृष्णबहादुर घजू नेकपामा समाहित हुँदै छन् ।

उनीहरूले पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै पार्टी कार्यालयमा पत्र दर्ता गरेका छन् । ‘अतः हामी तपसिलका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू जनता समाजवादी पार्टीका आ–आफ्ना पदीय जिम्मेवारीबाट अलग हुँदै विभिन्न पार्टीहरू एकताबद्ध भई बनेको नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण र ध्रुवीकरणको दिशामा अगाडि बढ्ने व्यहोरा जानकारीका लागि अनुरोध छ,’ उनीहरूले भनेका छन् ।

केन्द्रीय समिति बैठकले देशको समग्र परिस्थिति र पार्टीको अवस्था विश्लेषण गरी नीति, सिद्धान्त तथा माग मुद्दा मिल्ने राजनीतिक दलसँग एकीकरण, मोर्चा र तालमेल गर्नेलगायतका विषयमा वार्ता गरेर निर्णय लिन केन्द्रीय कार्यकारिणी समितिलाई अधिकार प्रत्यायोजन गरेको थियो ।

उक्त कार्यका लागि यथाशीघ्र कार्यकारिणी समितिको बैठक बोलाउनुपर्नेमा २ मंसिरमा बसेको केन्द्रीय समिति र केन्द्रीय कार्यकारिणी समितिबाट समेत सहमति गरी संघीय परिषद् अध्यक्ष श्रेष्ठ संयोजक रहेको वार्ता समितिलाई नेपाली कम्युनिस्ट पार्टीसँग एकता वार्ता गर्न जिम्मेवारी दिएको थियो ।पार्टीले कार्यदल गठन गरेर वार्तामा पठाए पनि कार्यदलको तर्फबाट रिपोर्ट पेस गर्न बैठक नबोलाएको आरोप श्रेष्ठसहितका नेताहरूको छ । 

उपमहासचिव प्रदीप यादवले नेकपासँग मोर्चा बनाएर जान सकिने, तर तत्काल एकता नगर्ने निर्णय पार्टीको रहेको बताए । ‘व्यक्ति जाने हो भने कसले रोक्न सक्छ र ? जसपाको निर्णय नेपाली कम्युनिस्ट पार्टीसँग अहिले एकता गर्ने वेला भइसकेको छैन, मोर्चा बनाएर जाऔँ भन्ने हो । बरु एकल चुनाव चिह्न लिएर निर्वाचनमा जान सकिन्छ भन्ने हाम्रो निर्णय हो,’ उनले भने । 
उनका अनुसार आइतबार पनि जसपाको सचिवालय बैठक बसेको छ । बैठकमा अध्यक्ष राईले जानेलाई रोक्न नसकिने बताए । ‘साथीहरूले मान्नुहुन्न भने जान दिनुस्, अहिले एकता गरेर जान सकिन्नँ । मोर्चा बनाएर जाऔँ भनेकै हो । एकल चुनाव चिह्नमा पनि जान सकिन्छ पनि भनेकै हो,’ राईको भनाई उद्धृत गर्दै यादवले भने ।

नेकपा र राजेन्द्र श्रेष्ठ नेतृत्वको वार्ता टोलीबिच पार्टी एकताको सैद्धान्तिक सहमति भइसकेको छ । नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको कार्यदल बैठकमा एकताको सहमति भएको नेताहरूले बताएका छन् । 

जसपा, उन्मुक्ति र राष्ट्रिय मुक्तिबिच चुनाव चिह्न  ‘जाँतो’मा सहमति
जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय मुक्ति पार्टीबिच आगामी निर्वाचनमा एकल चुनाव चिह्नमा चुनाव लड्ने सहमति भएको छ । एकल चुनाव चिह्नको रूपमा हाल नागरिक उन्मुक्ति पार्टीको कायम रहेको जाँतो (चकिया) चुनाव चिह्न प्रयोग गर्ने सहमति भएको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए । सहमतिपत्रमा जसपा अध्यक्ष अशोक राई, राष्ट्रिय मुक्तिका अध्यक्ष राजेन्द्र महतो र नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले हस्ताक्षर गरेका छन् ।

See More On

सुझावित समाचार