नेपाल विश्वकप पुगेको ११ वर्षपछि त्रिवि मैदानमा जोडिएको फ्लड लाइटको जस लिन नेताहरूको होडबाजी
त्रिवि क्रिकेट मैदानमा पहिलोपटक फ्लड लाइटमा खेल हुन थालेपछि ‘त्यो काम मैले गरेको’ भन्दै जस लिने होडबाजी नै चल्यो । एनपिएलको दोस्रो संस्करण सुरु हुने अघिल्लो दिन भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री कुलमान घिसिङले स्विच अन गरेर फ्लड लाइटको उद्घाटन गरेपछि जस लिने लहर चलेको थियो । एमाले नेता, कार्यकर्ता र समर्थकहरूले निवर्तमान प्रधानमन्त्री केपी ओलीले फ्लड लाइट बनाएको प्रचार गरे ।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फ्लड लाइट जडानका लागि ०७९ चैतमै राखेपलाई निर्देशन दिएको स्मरण फेसबुकमार्फत गराउँदै ‘जस’ लिन खोजे । कांग्रेसजनहरूको पनि आफ्नै दाबी रह्यो– निवर्तमान सहरी विकासमन्त्री प्रकाशमान सिंहले आफ्नो मन्त्रालयमातहत ल्याएर फ्लड लाइट निर्माणको ठेक्का लगाएकाले मुख्य योगदान उनकै हो ।
नेपालले विश्वकप क्रिकेट खेल्न थालेको १२ वर्षपछि बल्लतल्ल जडान गरिएको फ्लड लाइटको जस लिन यसरी राजनीतिक तँछाडमछाड चल्दा विराटनगरको बैजनाथपुरमा २५ वर्षसम्म पनि ‘गिरिजाप्रसाद कोइराला रंगशाला’ बन्न नसकेको अपजस कसले लिन्छ ? संघीय राजधानीमै २२ वर्षसम्म अलपत्र ‘मूलपानी क्रिकेट रंगशाला’ नबनेको भागीदार को बन्छ ?
अनि कलाकार धुर्मुस–सुन्तलीले सुरु गरेर काम गर्न नसकेपछि सरकारलाई सुम्पिएको भरतपुरस्थित ‘गौतम बुद्ध क्रिकेट रंगशाला’ निर्माणमा ढिलासुस्तीमा यसबिचका कुनै प्रधानमन्त्री वा खेलकुदमन्त्रीले अपजस लिन सक्छन् ? जबकि यी तीनवटै रंगशाला राष्ट्रिय गौरवका आयोजनामा पर्छन् ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्वसदस्यसचिव युवराज लामा त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट बनेको जस लिन पूर्वप्रधानमन्त्री तथा नेताहरूले गरेको प्रचार हास्यास्पद र लाजमर्दो भएको टिप्पणी गर्छन् । ‘पछिल्ला दिनहरूमा गरिएका प्रचार हेर्दा मैदान निर्माणलाई व्यक्तिगत उपलब्धिजस्तै दाबी गर्ने प्रवृत्ति देखिएको छ ।
पूर्वप्रधानमन्त्रीहरूबाट जे भएको छ, त्यो ठिक हैन । सत्तामा रहेर राज्यकोषबाट बजेट विनियोजन गर्नु त पदकै जिम्मेवारी हो नि । तर, त्यसलाई आफ्नै घर–जग्गा बेचेर गरेको त्यागझैँ चित्रित गर्नु हास्यास्पद मात्र होइन, लाजमर्दो पनि हो,’ उनले भने, ‘उहाँहरूले चाहनुहुन्छ भने त मूलपानी मैदान किन समयमै नसकेको ? त्यसतर्फ त कसैले पनि ध्यान दिनुभएन नि !’
तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले ०५७ मै विराटनगर महानगरपालिका– १९, बैजनाथपुरमा क्रिकेट र फुटबलसहित अन्य खेलको कम्प्लेक्स बनाउने आश्वासन दिएका थिए । सोही वर्ष ८५ लाखमा १६ बिघा ९ कट्ठा जग्गा खरिद गरेर क्रिकेट रंगशाला निर्माण थालिएको थियो । तर, २५ वर्षसम्म मैदानको सामान्य घेराबन्दी र एउटा सानो खुला दर्शक प्यारापिटबाहेक केही बनेको छैन ।
०८० मा तत्कालीन प्रचण्ड सरकारले मूलपानी र गौतम बुद्धसँगै गिरिजाप्रसाद कोइराला रंगशालालाई पनि राष्ट्रिय गौरवको आयोजनामा समेट्ने निर्णय गर्यो । तर, त्यसयता पनि कुनै भौतिक प्रगति छैन । जबकि राष्ट्रिय गौरवअन्तर्गत लैजाँदा १० हजार सिट क्षमताको अन्तर्राष्ट्रिय रंगशाला र पाँच हजार क्षमताको एथलेटिक्स ट्र्याक, फुटबल र रक्वी रंगशालाको अवधारणा अघि सारिएको थियो । दुई अर्ब ८० करोड लागत प्रस्ताव गरिए पनि मैदान समथर बनाउनेसम्म काम भएको छैन, भवन त झन् कसरी बनून् । रंगशालामा बिजुली छैन, जडान गरिएको सोलार बत्ती पनि बल्दैनन् ।
०७३ मा सातौँ राष्ट्रिय खेलकुदका वेला बनाइएका टेनिस कोर्ट र सुटिङ भवनसमेत जीर्ण भइसकेका छन् । त्यति वेला क्रिकेट, सफ्ट टेनिस र सुटिङ खेलको अस्थायी पूर्वाधार बनाएर खेल खेलाइएको थियो । ६० लाख लागतमा क्रिकेटका लागि घाँसे मैदान तयार गरिएको थियो । त्यस्तै, ४० लाखको लागतमा सुटिङ भवन बनाइएको थियो । अलपत्र रंगशालाको हेरालुका रूपमा एक दम्पती खटिएका छन् । गौरवको आयोजनामा समेट्नुअघि प्रदेश सरकारले क्रिकेट पिच बनाउन ३० लाख बजेट विनियोजन गरेको थियो । तर, खाल्टोमा माटो पुरेर बजेट सकाएको थियो ।
मोरङ खेलकुद विकास समितिका सदस्यसचिव विनोदराजन पोखरेल राष्ट्रिय गौरवको आयोजनामा परेपछि रंगशाला राष्ट्रिय खेलकुद परिषद्ले नै हेरिरहेको बताउँछन् । जिल्लाले राखेपको निर्देशनमा मात्र हेरालुमार्फत अवस्था बुझ्ने र रंगशाला हेर्न आउनेलाई भ्रमण गराइदिने काम गर्दै आएको पोखरेलको भनाइ छ । ‘गौरवको आयोजना भएकाले सबै संघले नै हेर्ने गरेको छ । कति बजेट परेको छ र कुन संरचना कहिलेसम्म निर्माण हुन्छन् भन्ने जानकारी हामीलाई छैन, हामी त सुरक्षाको अवस्था बुझिदिने मात्रै हो,’ उनले भने ।
क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद कुरैसीले पनि आफूसँग कसैले समन्वय नगर्ने भएकाले रंगशालाबारे कुनै जानकारी नभएको बताए । ‘क्यान मोरङलाई वेला–वेला जिल्ला खेलकुदसँग समन्वय गरेर क्रिक्रेट प्रतियोगिता गराउनेबाहेक अरू केही जानकारी छैन,’ उनले भने । त्यस्तै, मोरङ खेलकुद परिषद्का क्रिकेट प्रशिक्षक महेश रिजालले हिउँदमा प्रतियोगिता आयोजना हुँदा सरसफाइ गरेर खेल खेलाउने गरिएको बताए । चालू आवमा पाँच करोड विनियोजन भएको सुन्नमा आए पनि औपचारिक जानकारी नपाएको उनको भनाइ छ ।
तत्कालीन समयमा अन्तर्राष्ट्रियस्तरको पिच त्रिवि क्रिकेट मैदानमा मात्रै रहेकाले खेलाडीले राजधानीमै निर्माणाधीन मूलपानी क्रिकेट रंगशाला छिटो बनोस् भन्ने आशा पालेका थिए । अभ्यास खेलका लागि मैदान अभाव झेल्दै आएका खेलाडीका लागि काठमाडौंमै अन्तर्राष्ट्रियस्तरको रंगशाला अत्यावश्यक थियो, अहिले पनि छ । तर, ०६० मै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को परियोजनाअन्तर्गत बन्न सुरु भएको मूलपानी क्रिकेट रंगशाला २२ वर्षसम्म पनि अझै पूर्ण भएको छैन ।
तत्कालीन मूलपानी गाविसले वडा नं. ८ स्थित लगभग ४०० रोपनी खाली जग्गा सरकारलाई उपलब्ध गराएको थियो । उक्त जग्गा हस्तान्तरणको तीन वर्षपछि क्रिकेट मैदान निर्माण थालिएको थियो । तर, मुआब्जालगायत विवाद निस्किएपछि काम अघि बढ्न सकेन । मुआब्जा विवाद टुंग्याउनै १८ वर्ष लाग्यो, अर्थात् चार वर्षयता मुआब्जाको समस्या छैन ।
मूलपानीमा तल्लो र माथिल्लो गरी दुई रंगशाला छन् । क्यानलाई जिम्मा दिएको माथिल्लो रंगशाला तयार भएर अन्तर्राष्ट्रियस्तरको मान्यता पाइसके पनि सरकारले जिम्मा लिएको तल्लो रंगशाला भने अलपत्र छ । माथिल्लो रंगशालामा क्रिकेट पिच र क्यानको मुख्यालय छ, जहाँ अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता पनि भइसकेका छन् । तर, फ्लड लाइट र दुई भिआइपी टावरसहितको प्यारापिट बनाउने गुरुयोजना रहेको तल्लो रंगशाला अलपत्र छ । सरकारले एक भिआइपी टावर (तीन तलाको) तथा दुईतर्फको प्यारापिट ब्लक थपेको छ । मैदानको पूर्वी पश्चिम र उत्तरतर्फको प्यारापिट बनेको छ । पिच पनि तयार छ । केही वर्षयता यहाँ खेलाडीले अभ्यास गर्छन् भने राष्ट्रियस्तरका प्रतियोगिता पनि हुने गरेको छ ।
पछिल्लोपटक भने क्यानले यू–१९ विश्वकप छनोट प्रतियोगिता नै मूलपानीमा आयोजना गर्यो । तर, यो रंगशालाले अन्तर्राष्ट्रिय मान्यता पाएको छैन । तल्लो रंगशालाको दक्षिणतर्फ रहेको सडक, पानी र बिजुलीको लाइन हटाउन नसक्दा मैदानको बाँकी काम हुन सकेको छैन । मुख्य विवाद भनेकै दुई मैदान बिचको सडक हो । त्यो सडक, ढल, पानीको पाइप र बिजुली सार्न सरकारले नै ध्यान नदिँदा मैदानले पूर्णता पाउन सकेको छैन ।
२२ वर्षसम्म एउटा क्रिकेट मैदान पूर्ण नहुँदा पनि राखेपका उपाध्यक्ष ध्रुव आचार्य विस्तारै पूर्णता पाउने जवाफ दिन्छन् । ‘विकासको क्रम क्रमिक रूपमा हुँदै छ । मूलपानी अहिले अभ्यास गर्ने थलोको रूपमा विस्तार भएको छ,’ एमालेनिकट मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्षसमेत रहेका आचार्यले भने, ‘आजको आवश्यकता टियू हो । मूलपानी कानुनी प्रक्रियाअनुसार चलिरहेको छ । यो पनि चाँडै पूरा हुन्छ ।’
त्यस्तै, ०७५ मा धुर्मुस–सुन्तली फाउन्डेसनले निर्माण सुरु गरे पनि अगाडि बढाउन नसकेपछि सरकारले जिम्मा लिएको भरतपुर महानगरपालिका– १५, रामपुरमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाले पनि अपेक्षाकृत गति लिन सकेको छैन । यसपालि त संघ सरकारले बजेट नै विनियोजन गरेको छैन ।
२२ पुस ०८३ भित्र निर्माण सक्ने गरी हिमालयन–कालिञ्चोक–बिबिआर जेभीसँग २३ असार ०८१ मा सम्झौता भएको थियो । समयावधि दुईतिहाइ सकिँदा निर्माण भने ४५ प्रतिशत मात्रै सकिएको छ । यो फाउन्डेसनले गरेका कामबाहेकको हिसाब हो । ०८० पुसमा मन्त्रिपरिषद्ले बागमती प्रदेश सरकारसँगको साझेदारीमा भरतपुर महानगरपालिकालाई निर्माणको जिम्मा दिएको थियो । प्रदेश सरकारले ७० र महानगरले ३० प्रतिशत आर्थिक भार व्यहोर्नुपर्ने सहमति गरेका छन् । रंगशाला बनाउन महानगरलाई गत वर्ष संघ सरकारले २५ करोड विनियोजन गरेकामा यसपालि कत्ति पनि बजेट दिएको छैन । गत वर्ष महानगरले संघबाट गएको १७ करोड खर्च भएको थियो ।
भरतपुर महानगरका डिभिजनल इन्जिनियर सन्तोष आचार्य निर्माण कम्पनीले दुईवटा टावरको ढलाइ र रंगशाला पश्चिमतर्फको प्यारापिटको ढलाइको काम सकाएको छ । पूर्वतर्फको प्यारापिटको तीन भागमध्ये एक भागको ढलाइको काम भइरहेको छ । रंगशालामा मैदानसहित पाँचवटा पिच, तीन/तीन तलाका दुईवटा टावर, १० हजार क्षमताको प्यारापिटलगायत निर्माण गर्नुपर्ने उनले बताए । यसको निर्माण लागत ७८ करोड ५० लाख ९१ हजार छ । अघिल्लो आर्थिक वर्षमा काम केही सुस्त भए पनि यसपालि तीव्र्र गतिमा भइरहेको आचार्य बताउँछन् ।
‘गत वर्षभन्दा यस वर्ष रंगशालाको निर्माण कार्यले तीव्रता पाएको छ । निर्माण कम्पनीले तोकिएको समयमै काम सक्ने गरी काम गरिरहेको छ,’ उनले भने । सरकारमातहत ल्याउनुअघि फाउन्डेसनले दुईवटा प्यारापिटको फाउन्डेसन र प्यारापिटका २८५ पिलरको बेसिक काम सकिएको थियो । त्यस्तै, दुईवटा टावरमध्ये एउटा टावरको बेसको काम र चौर सम्याउने काम गरेको थियो । तर, १८ करोड ४३ लाख उधारो देखाउँदै फाउन्डेसनले २ पुस ०७८ हात उठाएको थियो ।
त्यसपछि महानगरले जिम्मा लिएको थियो । फाउन्डेसनले उधारोमा लिएका सामानको भुक्तानी अहिलेसम्म भएको छैन ।
महानगरले जिम्मा लिएपछि भने धुर्मस सुन्तली फाउन्डेसनले निर्माण गरेका भौतिक संरचनाको प्रविधिक परीक्षणपछि टावर निर्माण, प्यारापिट निर्माण र त्यसको ढलान गर्ने काम भइरहेको छ । त्यस्तै, चौरको लेभलिङ र प्राविधिक परीक्षणलगायतका काम पनि भएको अवस्था छ ।
त्रिभुवन विश्वविद्यालय, पुल्चोक इन्जिनियरिङ कलेजको मूल्यांकनअनुसार फाउन्डेसनले ५९ करोड ९० लाखको काम गरेको थियो । फाउन्डेसनले तीन अर्ब ५५ करोड लागतमा निर्माण सक्ने लक्ष्य लिएको थियो । फाउन्डेसनले हात उठाएपछि मन्त्रिपरिषद्को ०७९ चैतको बैठकले सरकारी बजेटमा रंगशाला निर्माण गर्ने निर्णय गरेको थियो । नेपाल दोस्रोपटक टी–२० विश्वकप क्रिकेटमा पुगेपछि २३ कात्तिक ०८० को मन्त्रिपरिषद्ले तीनवटा क्रिकेट रंगशालालाई गौरवको आयोजना घोषणा गर्दा गौतम बुद्ध पनि समावेश गरिएको थियो ।
इन्जिनियर आचार्यका अनुसार बागमती प्रदेश सरकारले रंगशाला निर्माणका लागि १७ करोड महानगरपालिकालाई निकासा गरिसकेको छ । चालू आर्थिक वर्षका लागि पनि प्रदेश सरकारले नौ करोड विनियोजन गरेको छ । महानगरले भने रंगशाला निर्माणका लागि चालू आवमा चार करोड विनियोजन गरेकोमा दुई करोड निकासा भइसकेको इन्जिनियर आचार्यले बताए ।
मूलपानी र बैजनाथको डिपिआर बुझाएपछि तीनपटक स्रोत सुनिश्चितता माग्यौँ, तर एक वर्षदेखि मन्त्रालयमै फाइल अड्काइयो
टंकलाल घिसिङ, सदस्यसचिव, राखेप
सरकारमा रहेका तत्कालीन प्रधानमन्त्रीज्यूहरूले त्रिवि रंगशाला बनाउन प्राथमिकता दिनुभयो । यसका लागि उहाँहरूलाई साधुवाद नै भन्नुपर्छ । तर, ‘मैले गरेको’ किन भन्नुपर्यो ? लोकप्रियता शब्दको सापटी लिएर प्रतिस्पर्धा नगर्दा राम्रो हुने थियो । राष्ट्रिय गौरवको आयोजनामा समावेश भएपछि मूलपानी र बैजनाथ रंगशालाको डिपिआर गत वर्ष नै सरकारलाई बुझाएका हौँ । हामीले दुवै मैदान निर्माणका लागि सरकारसँग तीनपटक स्रोत सुनिश्चितता माग्यौँ । तर, फाइल अगाडि नै बढेन । यसअघिको सरकारले त यसलाई अगाडि बढाउनै चाहेन । मन्त्रालयमै फाइल रोकियो ।
धेरै होडबाजी हामीले गरिराख्न पर्दैन
तेजुलाल चौधरी, पूर्वखेलकुदमन्त्री
म खेलकुदमन्त्री हुँदा राष्ट्रिय गौरवको आयोजनाका लागि अर्थ मन्त्रालयसँग बजेट मागेको थिएँ । तर, दिएनन् । प्रधानमन्त्री र अर्थमन्त्रीमा बजेट नै नदिने प्रवृत्ति देखियो । बहुवर्षीय योजनाका लागि राष्ट्रिय योजना आयोगबाट पनि सिफारिस भएको थियो । मूलपानीका लागि पाँच अर्ब र विराटनगरको रंगशालाका लागि तीन अर्ब माग गरेका थियौँ, तर बजेट नै दिएनन् । स्वीकृति नै नदिएपछि कसरी काम हुन्छ ?
जनचाहनाअनुसार बनेको पूर्वाधार हो
विराजभक्त श्रेष्ठ, पूर्वखेलकुदमन्त्री
सरकारले बनाएका पूर्वाधारमा जस लिने होडबाजी गर्नु व्यर्थ छ । यो आवश्यकता, जनचाहना र प्राथमिकताअनुसार बनेको हो । कुनै एक व्यक्तिले बनाएको होइन । मै मन्त्री हुँदा त्रिविमा फ्लड लाइट जडान र स्कोर बोर्ड जोड्ने प्रक्रिया बढेको थियो । सबैभन्दा ठुलो भूमिका क्यान र राखेपकै छ ।
मूलपानी मैदान किन समयमै नसकेको त ?
युवराज लामा, पूर्वसदस्यसचिव, राखेप
पछिल्ला दिनहरूमा गरिएका प्रचार हेर्दा मैदान निर्माणलाई व्यक्तिगत उपलब्धिजस्तै दाबी गर्ने प्रवृत्ति देखिएको छ । पूर्वप्रधानमन्त्रीहरूबाट जे भएको छ, त्यो ठिक होइन । सत्तामा रहेर राज्यकोषबाट बजेट विनियोजन गर्नु त पदकै जिम्मेवारी हो नि । तर, त्यसलाई आफ्नै घर–जग्गा बेचेर गरेको त्यागझैँ चित्रित गर्नु हास्यास्पद मात्र होइन, लाजमर्दो पनि हो । यस्तै तर्क गर्ने हो भने उहाँहरूले मुलपानी मैदान किन समयमै नसकेको त ? त्यसतर्फ त कसैले पनि ध्यान दिनुभएन नि !
ओलीकै पहलकदमीले फ्लड लाइट बल्यो
ध्रुव आचार्य, उपाध्यक्ष, राखेप
निवर्तमान प्रधानमन्त्री केपी ओलीको पहलकदमीले त्रिवि मैदानमा फ्लड लाइट बलेको हो । होडबाजीको कुरा होइन, काम ओली सरकारबाटै भएको हो । यसलाई सबैले स्वागत गर्नैपर्छ । मूलपानी पनि अहिले अभ्यास गर्ने थलोका रूपमा विस्तार भएको छ, चाँडै नै पूरा हुन्छ । तर, आजको आवश्यकता त्रिवि रंगशाला नै हो ।