सुनसरीको दुहबी नगरपालिका–८, सोनापुरमा रहेको अरिहन्त जुट मिल्समा शनिबार भएको आगलागीमा पाँच करोडबराबरको क्षति भएको छ। आगलागीबाट जुट मिल्सभित्र रहेका जुट, जुटका सामग्री र मेसिनहरू जल्दा पाँच करोडबराबरको क्षति भएको उद्योगका सञ्चालक राजकुमार गोल्छाले बताए।
गोल्छाका अनुसार विद्युत् सर्ट भएर लागेको आगोले जुट मिल्सभित्रका पाँचवटा मेसिनसहित विभिन्न उपकरण जलेर नष्ट भएका छन्। शनिबार साँझ लागेको आगो निभाउन इटहरी, विराटनगर, दुहबी, धरानलगायत स्थानबाट आठवटा दमकल, प्रहरी, स्थानियबासी र जुटमिलका कामदार-कर्मचारीहरूले खटिएका थिए। सबैको प्रयासमा साँझ ८ बजेतरि मात्र आगो नियन्त्रणमा आएको थियो।
सोनापुरमा रहेको अरिहन्त जुटमिल गोल्छा अर्गनाइजेसनअन्तर्गत रहेको उद्योगी राजकुमार गोल्छा (आरके ग्रुप)को हो। यो हालसम्म सञ्चालन भैरहेका जुटमिलमध्येको ठुलो जुटमिलसमेत हो।