ताप्लेजुङमा करिब दुई हजार नयाँ मतदाता थप, युवा पुस्ताको उत्साह उच्च

आइतबार, ८ मंसिर, २०८२
डिजिटल संस्करण

ताप्लेजुङमा पछिल्लो मतदाता नामावली दर्ता अवधि सकिँदासम्म करिब दुई हजार नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार दर्ता गरिएको नयाँ नामावलीमा कुल एक हजार ८५६ जनाले आफ्नो नाम सूचीकृत गराएका हुन्। 

सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन गर्ने मिति तोकेपछि गत असोज दोस्रो सातादेखि फोटोसहितको मतदाता नामावली दर्ता कार्य सुरु भएको थियो । कात्तिक मसान्तसम्म तोकिएको दर्ता अवधिपछि मंसिर ५ गते शुक्रबारसम्म पाँच दिन थप गरिएको थियो । यही अवधिमा नयाँ मतदाताको संख्या उल्लेखनीय बनेको हो ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी तथा कम्प्युटर अपरेटर बान्दवराज दुलाल (विपिन)का अनुसार नयाँ दर्ता भएकामध्ये एक हजार २५ पुरुष र ८३१ महिला रहेका रहेका छन् । यससँगै ताप्लेजुङमा मतदाताको कुल संख्या ९५ हजार ८९ पुगेको दुलालले जानकारी दिए । कुल मतदातामध्ये ५१ हजार एक सय पुरुष र ४३ हजार ९८० महिला रहेको कार्यालयले जनाएको छ ।

दुलालका अनुसार यसपटक नयाँ दर्तामा करिब ९५ प्रतिशत किशोर तथा ‘जेन–जी’ उमेर समूहका रहे, जसले युवा पुस्तामा मतदाता दर्ताप्रतिको उच्च उत्साह देखाएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नयाँ दर्ता भएकामध्ये कति मतदाता मतदानयोग्य हुने भन्ने विवरण छानबिनका लागि केही समय लाग्ने बताइएको छ । यसअघिको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ताप्लेजुङमा ८२ हजार २८५ मतदाताले मतदान गरेका थिए ।
 

सुझावित समाचार