निवर्तमान प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले गैरसरकारी संस्था हामी नेपालका संयोजक सुदन गुरुङले फेरि घर जलाइदिन्छुँ भन्दै धम्की दिएको आरोप लगाएका छन् । जेन–जी समूहको नाममा गुरुङले घर जलाइ दिने धम्की दिएको भन्दै उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका हुन् ।
उनका अनुसार, पार्टी कामका सिलसिलामा काठमाडौंमा रहेको बेला ६ मंसिरमा जेन–जीको कथित नेता भएको दाबी गर्ने गुरुङले जितपुरसिमरा–४ औराहास्थित उनको घरमा जबरजस्ती प्रवेश गरेका थिए।
श्रेष्ठले बताए अनुसार गुरुङले २४ भदौमा आगजनी भएको घर पुनर्निर्माण गरिरहेका कर्मचारी र कामदारलाई धम्क्याउँदै, किसान श्रेष्ठको घर फेरि जलाइदिन्छु, तेरो नेतालाई जे पनि गर्न सक्छु भन्दै खुला धम्की दिएका थिए।
श्रेष्ठले यस्तो लुटपाट, दबाब र गुण्डागर्दी शैलीमा जेन–जीको नाम प्रयोग गरेर स्थानीय क्षेत्रमा आतंक फैलाउने गतिविधिको घोर निन्दा गरेका छन् । उनले नेपाल सरकार तथा स्थानीय सरकार दुवैलाई यस्तो आतङ्क रोक्न, कानुन व्यवस्था मजबुत बनाउन तथा घर पुनर्निर्माणमा संलग्नहरूलाई आवश्यक सुरक्षा व्यवस्था दिलाउन आग्रह गरेका छन् ।
श्रेष्ठले सिमरामा भइरहेको अशान्ति र धम्कीपूर्ण गतिविधि तत्काल रोक्न राज्य गम्भीर रूपमा लाग्नुपर्ने आवश्यकता जोड दिएका छन् ।
सुदन गुरुङ भन्छन्– मैले कसैलाई धम्काएको छैन
सुदन गुरुङले पनि आफू किसान श्रेष्ठको घर गएको स्वीकार गरेका छन् । उनले भने, ‘मसहित बारा जेन–जी संयोजक सम्राट उपाध्यायलगायतको टोली श्रेष्ठसँग छलफल गर्न गएको हो। तर, श्रेष्ठ घरमा नभएको थाहा पाएपछि कस्तो घर रहेछ भनेर मात्र हेरेर फर्किएका हौँ। हामीले कसैलाई धम्क्याउने कुनै कार्य गरेको छैन ।’
उनका अनुसार पटक–पटक जेन–जी साथीसँग एमाले निकट व्यक्तिहरूले धाकधम्की दिँदै आएको भन्दै यही विषयमा छलफल गर्ने उद्देश्यले आफूहरू त्यहाँ पुगेका थिए।