लुम्बिनी लायन्सले दोस्रो नेपाल प्रिमियर लिग(एनपिएल)को सातौं खेलमा कर्णाली याक्सलाई एक सय ५७ रनको लक्ष्य दिएको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ५६ रन बनाएको हो। खेलमा कर्णाली याक्सका बलर हाबी भए । कर्णालीले कुल सात बलर प्रयोग गरेको थियो । त्यसपछि लुम्बिनीले ठुलो साझेदारी गर्नै सकेन ।
टस हारेको लुम्बिनीको लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । अर्धसतक बनाउन एक रनले मात्रै चुकेका रोहितलाई कर्णालीका कप्तान सोमपाल कामीले आउट गरेका हुन्। ४३ बलमा चार चौका र दुई छक्का हिर्काएका रोहितलाई सोमपालले नाजिवुल्लाह जाद्रनबाट क्याच गराएका थिए ।
डार्सी सर्टले १४ बलमा १९ रन बनाए । गुल्शन झाको बलमा प्रियान्क पाञ्चलबाट आउट हुनुअघि सर्टले चार चौका प्रहार गरेका थिए । रोहित र डार्सीले दोस्रो विकेटको लागि ३६ रनको सबैभन्दा धेरै साझेदारी गरेका थिए । जेजे स्मिथले १४ बलमा २३ रनको योगदान गरे । उनलाई नन्दन यादवले युवराज खत्रीबाट क्याच आउट गराए । रुवेन ट्रम्पलमेनले १४ बलमा अविजित २९ रनको योगदान गरेका थिए। चार खेलाडीबाहेक अन्यले दोहोरो अंकमा रन बनाउनै सकेनन् । सुरुबाटै दबाबमा आएको लुम्बिनीले पावर प्लेमा एक विकेट गुमाउँदा मात्र ३६ रन बनाएको थियो ।
अर्का ओपनर सन्दीप जोराले ८ बलमा १ रन जोड्दा नन्दन यादवले विलियम बोसिस्टोबाट सुन्दर क्याच आउट गरे । तेस्रो नम्बर क्रिजमा आएका दिपिल नाथलाई ६ रन बनाउँदा मार्क वाटले आफैँले क्याच गर्दै लुम्बिनीविरुद्ध दबाब सिर्जना गरेका हुन् । सुमित महर्जनले मात्र ४ रन बनाए ।
पहिलो खेलमा बेन्चमा रहेका बिपिन शर्माले अफगानिस्तानी स्टार गुल्वादिन नाइवलाई एलबिडब्लु धरापमा पारेका थिए । गुल्वादिनले ७ रन मात्रै बनाए । यता, पहिलो खेलमा विपिन चितवनविरुद्ध बेन्चमा थिए । चार रन बनाएका सुमित महर्जनलाई युवराज खत्रीले विलियम बोसिस्टोबाट क्याच आउट गराउँदा १३।४ ओभरमा लुम्बिनीले मात्र ७८ रन बनाएको थियो । समिर अली मुसलमान एक रन बनाउँदा रन आउट भएका थिए ।
कर्णालीका नन्दन यादवले सर्वाधिक २ विकेट लिएका थिए । उनले ४ ओभरमा सर्वाधिक ३८ रन खर्चिए । सोमपाल कामी, नन्दन यादव, गुल्शन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले समान एक विकेट लिएका थिए । दुई सानदार क्याच गरेका विलियमले दुई ओभर बलिङ गरेपनि विकेटविहिन भएका थिए । कर्णाली प्रतियोगितामा पहिलो जितको खोजीमा छ । कर्णाली पहिलो खेलमा चितवनसँग ४ विकेटले पराजित भएको थियो । लुम्बिनी लगातार दोस्रो जितकाे दाउमा छ । लुम्बिनीले पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको थियो ।