अनुशासनको कारबाहीमा चितवनका बलर रिजन

शनिबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण

चितवन राइनोजका बलर रिजन ढकाल दोस्रो संस्करणको एनपिएलमा आफ्नो दोस्रो खेललगत्तै अनुशासनात्मक कारबाहीमा परेका छन् । लुम्बिनी लायन्सविरुद्ध बिहीबार भएको खेलमा उनले आचारसंहिता उल्लंघन गरेपछि लेभल–१ अनुसार कारबाहीमा परेका हुन् । सो खेलमा उनले एलबिडब्लूको अपिल गरेका थिए । तर, अम्पायरले रिजनको एलबिडब्लू अपिल अस्वीकार गरे । 

अम्पायरले ब्याट्सम्यानलाई नटआउट दिएपछि रिजनले निर्णयप्रति असन्तुष्टि जनाउँदै अभिव्यक्ति दिएका थिए । आइसिसीले अम्पायरको निर्णयप्रति अपशब्द प्रयोग गर्दा खेलाडीमाथि आचारसंहिताविपरीतको गतिविधि मानिन्छ । एनपिएलले पनि रिजनद्वारा लेभन–१ को नियम उल्लंघन गरेको जनाएको छ । कारबाही प्रक्रियाका क्रममा ढकालले आफ्नो त्रुटि स्वीकार गरेका छन् ।

खेलाडीले आफूमाथि हुने सजाय स्विकारेको एनपिएलले जनाएको छ । एनपिएलको नियमअनुसार उनी चेतावनीसहित एक डिमेरिट प्वाइन्टका दन्डबाट गुज्रिएका छन् । सो खेलमा चितवन राइनोज ६ विकेटले पराजित भएको थियो । 

जनकपुर बोल्ट्सलाई रमपमको निरन्तर साथ
नेपाल प्रिमियर लिगको साबिक विजेता जनकपुर बोल्ट्सले रमपम नुडल्ससँग एसोसिएट पार्टनरका रूपमा यसपालि पनि सहकार्य सम्झौता गरेको छ । सम्झौतामा जनकपुर बोल्ट्सका प्रबन्ध निर्देशक निरोज खतिवडा र रमपम नुडल्सका निर्देशक आशिष जाजूले हस्ताक्षर गरेका छन् । एनपिएलको फ्रेन्चाइज जनकपुरले रमपमसँगको सम्झौता व्यावसायिक साझेदारीभन्दा माथि रहेकोे जनाएको छ । उपाधि रक्षाको अभियानसहित एनपिएल सिजन दुईको सुरुवात गरे पनि जनकपुरले पहिलो खेलमा हारको सामना गरिसकेको छ । एनपिएलको पहिलो खेलमा काठमाडौं गोर्खाजले जनकपुरमाथि पाँच विकेटको जित हासिल गरेको थियो ।

See More On

सुझावित समाचार