बाराको सिमराका जेन–जी प्रतिनिधि र स्थानीय प्रहरी प्रशासनबिचको औपचारिक वार्ता सुरु भएको छ।
सशस्त्र प्रहरी बल, नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा वार्ता सुरु भएको हो। वार्तामा जेन–जी समूहका १५ प्रतिनिधि सहभागी छन्।
उनीहरूले कुटपिटमा संलग्न व्यक्तिमाथि कुनै पनि दबाबमा नरही कारबाही हुनुपर्ने, घाइतेहरूको निःशुल्क उपचार र उचित क्षतिपूर्ति दिनुपर्ने, जेन–जी र पक्षधरको सुरक्षाको ग्यारेन्टी हुनुपर्ने, सुरक्षा व्यवस्थापनमा लापरबाही गर्ने प्रहरी अधिकारीलाई कारबाही गर्नुपर्नेलगायतका माग अघि सारेका छन्।
सिमरामा बुधबार एमालेका कार्यकर्ता र जेन–जी समूहबिच भएको विवादले उग्र रूप लिएको थियो। सो क्रममा एमालेका कार्यकर्ताले जेन–जी समूहमाथि हातपात गरेपछि जेन–जीले निरन्तर प्रदर्शन गर्दै आएका छन्।