देवेन्द्रका गजलमा गुन्जिए सन्तोष

शुक्रबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

गजलकार देवेन्द्र केसी ‘देवु’का प्रेमिल शब्दमा  संगीतकार एवं गायक सन्तोष श्रेष्ठ गुन्जिएका छन्। बिहीबार सर्वनाम थियटरमा अनाममण्डलीको आयोजनामा भएको गजल गायनमा श्रेष्ठ दुई घण्टा गुन्जिएका हुन्। उनको स्वरमा झुम्दै सन्तोषलाई दर्शकदीर्घाले तालीले सम्मान गरिरहे। सन्तोषलाई तबलामा शम्भु श्रेष्ठ र  बाँसुरीमा निर्मल सिंहले साथ दिएका थिए ।

अनाममण्डली नेपाली गजलको विकास, विस्तार र परिष्कारमा दुई दशकदेखि सक्रिय छ। कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टर, गोल्डेन क्रियसन र अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चको सहकार्य थियो। 

गजल अभियन्ता घनेन्द्र ओझाले गजलकार देवु र संगीतकार  एवं गायक सन्तोष श्रेष्ठबारे परिचय प्रस्तुत गर्दै विक्रमको ०८० देखि ०९० सम्मको १० वर्षलाई ‘नेपाली गजल गायनको स्वर्ण दशक’ मनाइरहेको उल्लेख गरे । ओझाले गजल गायन अभियान सातै प्रदेश तथा सम्भव भए विदेशसम्म लैजाने पनि बताए।

गजलकार एवं संगीत मर्मज्ञ रवि प्राञ्जलले पछिल्लो समय नेपाली गजल गायनमा आउने क्रम तीव्र बनेकामा खुसी व्यक्त गरे। प्रमुख अतिथि कवि एवं समालोचक प्राडा देवी नेपालले शास्त्रीय बहरमा रचना गरिएका गजलहरूलाई लोक रङ दिएर पनि सुन्दर ढंगले गाउन सकिन्छ भनेर सन्तोषले उदाहरण दिएकाे धारणा राखे। 

See More On

सुझावित समाचार