लोडसेडिङको समयमा प्रयोग गरेको बिजुलीको प्रिमियम बक्यौता असुल गर्न नेपाल विद्युत् प्राधिकरणले अघि बढाएको कारबाहीविरुद्ध रिलायन्स स्पिनिङ मिल्सले पाटन उच्च अदालतबाट अन्तरिम आदेश पाएको छ । बिहीबार न्यायाधीशद्वय सोमकान्त मैनाली र कृष्णमुरारी शिवाकोटीको संयुक्त इजलासले अन्तरिम आदेश जारी गरेको हो । योसँगै अब प्राधिकरणले अर्काे आदेश नआएसम्म उक्त उद्योगबाट बक्यौता असुलीका लागि कुनै कारबाही गर्न पाउँदैन । बक्यौता प्रक्रिया यथास्थितिमा राख्नुपर्नेछ ।
उद्योगको माघ ०७२ देखि वैशाख ०७५ सम्मको गरेर ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता छ । धेरै बक्यौता हुने उद्योगमा यो दुई नम्बरमा छ । प्राधिकरणले लाइन काट्न लागेपछि उद्योगले २ कात्तिकमै पाटन उच्च अदालतमा रिट दर्ता गरेको थियो । तर, प्रारम्भिक सुनुवाइमा अन्तरिम आदेश नपाएपछि उद्योगले गत २० कात्तिकमा बक्यौतालाई २८ किस्तामा विभाजन गरे पहिलो किस्ताबापत दुई करोड ७७ लाख रुपैयाँ गत बिहीबार प्राधिकरणलाई भुक्तानी गरेको थियो । त्यसपछि उद्योगमा लाइन पनि जोडियो । उद्योगमा लाइन जोडिएपछि उद्योगले अन्तरिम आदेश पाएको हो ।
यसअघि पनि ६ उद्योगले अदालतबाट अन्तरिम आदेश लिएर बसेका छन् । त्यसमा ५७ करोड ४५ लाख बक्यौता मारुती सिमेन्ट, ११ करोड ५३ लाख बक्यौता भएको अरिहन्त मल्टिफाइबर, ११ करोड ३७ लाख बक्यौता भएको युनाइटेड सिमेन्ट प्रालि, ८ करोड ५१ लाख बक्यौता भएको रघुपति जुट मिल, ६ करोड ६२ लाख बक्यौता भएको अरिहन्त पोलिप्याक लि. र २ करोड ४९ लाख बक्यौता भएको बाबा जुट मिलले अदालतबाट अन्तरिम आदेश लिएर बसेका छन् ।
तीन उद्योगले पाएनन् अन्तरिम आदेश
अर्घाखाँची सिमेन्टले पनि अन्तरिम आदेश माग गर्दै २१ कात्तिकमा सर्वाेच्च अदालतमा रिट दर्ता गरेको थियो । तर, उक्त उद्योगले भने अन्तरिम आदेश पाएन । अर्घाखाँची सिमेन्टको मुद्दालाई शिवम् सिमेन्टको मुद्दासँगै अघि बढाउने आदेश जारी छ । यही विषयमा शिवम् सिमेन्टको मुद्दा यसअघिदेखि नै सर्वोच्चमा विचाराधीन छ । ४४ करोड ८४ लाख बक्यौता भएको अर्घाखाँची सिमेन्टले पनि गत महिनादेखि किस्ता तिर्न थालेको छ ।
पञ्चकन्या समूहअन्तर्गतका पञ्चकन्या स्टिल इन्डस्ट्रिज र पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिजले पनि विद्युत् नियमन आयोगबाट अन्तरिम आदेश पाउन सकेन । पञ्चकन्या स्टिल इन्डस्ट्रिजको ५२ लाख र पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिजको २५ लाख रूपैयाँ बक्यौता छ ।
दुई उद्योगले तिरे दोस्रो किस्ता
यसैबिच, दुई उद्योगले बक्यौताको दोस्रो किस्ता तिरेका छन् । दोस्रो किस्ताबापत हुलास स्टिलले ५० लाख ४३ हजार र अशोक स्टिलले ६३ लाख बुझाएका छन् । यी दुई उद्योगले लाइन नकाट्दै गत कात्तिक २ मा नै २८ किस्तामा आफ्नो बक्यौता तिर्ने गरी प्राधिकरणलाई पहिलो किस्ता तिरेका थिए । एक महिनाको अन्तरालमा उक्त दुई उद्योग दोस्रो किस्ता तिरेका हुन् । हुलासको १४ करोड १२ लाख पाँच हजार र अशोकको १७ करोड ५८ लाख १४ हजार कुल बक्यौता छ । उनीहरूले २८ किस्तामा यो बक्यौता तिर्दै छन् ।