राजनीतिक विश्लेषक गेजा शर्मा वाग्लेलाई ३ प्रश्न

शुक्रबार, ६ मंसिर, २०८२
डिजिटल संस्करण

कांग्रेस किन यति लामो समयसम्म अनिर्णयको बन्दी बनेको होला ?
एक महिनाभन्दा लामो समयसम्म पनि कुनै निर्णय गर्न नसकी केन्द्रीय समिति अनिर्णयको बन्दी भएपछि केवल कार्यवाहक सभापतिको नेतृत्व क्षमता र कार्यकुशलतामाथि मात्रै होइन, कांग्रेसको लोकतान्त्रिक छवि र निर्णय प्रक्रियामा समेत गम्भीर प्रश्नचिह्न खडा भएको छ । जेनजी आन्दोलनपछि विकसित असाधारण र विशिष्ट राजनीतिक परिस्थितिबारे स्पष्ट मार्गचित्र तय गरी लोकतान्त्रिक प्रणाली र संविधानको संरक्षण गर्ने अजेन्डासहित निर्वाचनमा होमिनुपर्ने समयमा कांग्रेस दृष्टिकोणविहीन हुँदा जनतामा नकारात्मक सन्देश गएको छ । जेन–जी आन्दोलनपछि तत्कालै केन्द्रीय समितिले निर्णय गरेर विशेष महाधिवेशन गर्नुपर्ने ठाउँमा ५४ प्रतिशत प्रतिनिधिले लिखित माग गर्दासमेत महाधिवेशन नगरेर कांग्रेसले आफ्नै लोकतान्त्रिक छविमाथि नै कालो पोत्ने काम गरेको छ । वास्तवमा कांग्रेसको केन्द्रीय समिति संस्थापन पक्ष विशेषगरी ‘सात भाइ’को गुटगत स्वार्थको बन्दी भएको छ ।

लोकतान्त्रिक पार्टीका नेताहरू महाधिवेशनमा जान किन डराइरहेका होलान् ?
कांग्रेसले अविलम्ब महाधिवेशन गरी विगतबारे गम्भीर आत्मसमीक्षा, आत्मचिन्तन र आत्मालोचना गर्नु आवश्यक छ । तर, कांग्रेसको संस्थापन पक्ष निर्वाचनअगाडि महाधिवेशन गर्ने पक्षमा छैन । एकातिर उनीहरू महाधिवेशनमा जान डराइरहेका छन् किनभने उनीहरूमा महाधिवेशनबाट विस्थापित हुने त्रास छ । अर्कातिर अहिलेकै नेतृत्वले टिकट वितरण गर्न चाहेको देखिन्छ । तर, कांग्रेसलाई पुनर्गठन र रूपान्तरण गरी पुनर्जीवन दिने यो नै अन्तिम अवसर हो ।

यथास्थितिमै निर्वाचनमा सहभागी हुँदा जनताले कांग्रेसलाई कति पत्याउलान् त ?
फागुनको निर्वाचनअगावै पार्टीको महाधिवेशन गरी नयाँ नीति र पुस्तान्तरणसहितको भिजनरी नयाँ नेतृत्व स्थापना गर्नुपर्छ । महाधिवेशनबाट स्थापित भएको नयाँ नेतृत्व र अंगीकार गरिएको नयाँ नीतिका आधारमा जनतामा जानुपर्छ । महाधिवेशन नगरी यथास्थितिमै निर्वाचनमा गयो भने जनताले नपत्याउने मात्रै होइन, कांग्रेसले अकल्पनीय क्षति बेहोर्नेछ । त्यसैले निर्वाचनअगावै कांग्रेसको महाधिवेशन गरी नयाँ नीति र नयाँ नेतृत्व स्थापित गर्नुको विकल्प छैन ।

सुझावित समाचार