सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाइ नगर आयोजना उपभोक्ता मूल संस्थाको अध्यक्षमा स्वतन्त्र नागरिक अभियानका उम्मेदवार बाबुराम भुसाल निर्वाचित भएका छन् । उनी ५६३ मत प्राप्त गरी विजयी भए । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका उम्मेदवार युवराज खत्रीले ४४३ मत प्राप्त गरी पराजित भए।
भुसालले चारदलीय गठबन्धनका साझा उम्मेदवारलाई पराजित गरेका हुन् । यस निर्वाचनमा कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन बनेको थियो । गठबन्धनबाट अध्यक्षमा खत्री उम्मेदवार बनेका थिए । खत्री १२० मतले पराजित भए । एक हजार ७३१ मतदाता रहेको यस संस्थामा एक हजार ६८ मत खसेको थियो ।
‘सन्धिखर्कमा हामी दलीय सिन्डिकेट तोड्न सफल भएका छौँ,’ नवनिर्वाचित अध्यक्ष भुसालले भने, ‘नगरवासीले अपार माया र जिम्मेवारी दिनुभएको छ । म त्यो जिम्मेवारी पूरा गर्नेछु । हाम्रा सबै काम पारदर्शी रूपमा हुनेछन् । हामीले गर्ने सबै बैठकको प्रत्यक्ष प्रसारण हुनेछ । कुनै पनि सामान खरिद गरिसकेपछि हामीले तत्कालै आय-व्यय उपभोक्तामाझ सार्वजनिक गर्नेछौँ।’
स्वतन्त्र नागरिक अभियानका संयोजक ज्ञानेन्द्र घिमिरेले भने, ‘यहाँका राजनीतिक दलले मतदातालाई ह्विप नै जारी गरेका थिए । तर, नगरवासीले आफ्नो विवेक प्रयोग गरेर हाम्रो उम्मेदवारलाई निर्वाचित गरेकोमा हामी खुसी छौँ । पहिलाे चरणमा जेन-जी आन्दोलनका सहिद माधव सारुमगरको घर (भूमिकास्थान- ४ धारापानी) पुगेर उनको परिवारलाई भेट्नेछाैँ । त्यसपछि सबै मतदाताको घरघरमा पुगेर धन्यवाद दिनेछौँ । अनि मात्र हाम्रो टोली नगरको काममा लाग्नेछ ।’
घिमिरेले भने, ‘बाबुराम भुसाललाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उम्मेदवार भनेर हल्ला फैलाइएको छ । त्यो कुरा सही होइन । उहाँ स्वतन्त्र नागरिक अभियानको तर्फबाट चुनाव लड्नुभएको हो ।’
यस उपभोक्ता मूल संस्थामा सन्धिखर्क नगरपालिकाको वडा नं. १ र २ पर्छन्। निर्वाचित प्रतिनिधिहरूको आइतबार शपथ हुनेछ । निर्वाचित प्रतिनिधिहरूको कार्यकाल तीन वर्ष ताेकिएकाे छ ।
यस्ताे छ निर्वाचनकाे मत–परिणाम
अध्यक्ष
- बाबुराम भुसाल स्वतन्त्र (५६३) निर्वाचित
- युवराज खत्री गठबन्धन (४४३) पराजित
वरिष्ठ उपाध्यक्ष
- बेदराज घिमिरे स्वतन्त्र (५१८) निर्वाचित
- बाबुराम भुसाल गठबन्धन (४२९) पराजित
उपाध्यक्ष
- भेषबहादुर क्षेत्री गठबन्धन (४७१) निर्वाचित
- दिलबहादुर वली स्वतन्त्र (४४६) पराजित
सचिव
- जीवलाल पाैडेल गाेपाल गठबन्धन (४७४) निर्वाचित
- कृष्णबहादुर शाही स्वतन्त्र (४४१) पराजित
काेषाध्यक्ष
- सरिता महत क्षेत्री स्वतन्त्र (४७७) निर्वाचित
- सुमित्रा मुखिया गठबन्धन (४४९) पराजित
सहसचिव
- कल्पना पाेख्रेल गठबन्धन (४६१) निर्वाचित
- शकुन्तला भुसाल स्वतन्त्र (४३९) पराजित
सदस्यहरू
- नवीन सुनार गठबन्धन (५१२) निर्वाचित
- कमला अर्याल गठबन्धन (४९४) निर्वाचित
- मतिलाल खनाल गठबन्धन (५१६) निर्वाचित
- भीमबहादुर खत्री स्वतन्त्र (३०४) पराजित
- टामलाल सार्की स्वतन्त्र (२९२) पराजित
- चुमकला गिरी स्वतन्त्र (२४०) पराजित
लेखा समिति
- सुनिता बेल्वासे संयाेजक गठबन्धन (४१२) निर्वाचित
- कमल ढकाल लेखा सदस्य गठबन्धन (५२९) निर्वाचित
- ज्ञानबहादुर वि.क. लेखा सदस्य गठबन्धन (४६०) निर्वाचित
- शान्ता रायमाझी लेखा सदस्य स्वतन्त्र (३७५) पराजित
- रामप्रसाद चुँदाली लेखा सदस्य स्वतन्त्र (२९०) पराजित
- निमबहादुर बस्नेत संयाेजक स्वतन्त्र (३४०) पराजित