एकैघरका सातजनालाई रातभर बन्धक बनाएर लुटपाट

बिहिबार, ५ मंसिर, २०८२
डिजिटल संस्करण

नवलपुरको कावासोतीमा एकैघरका सातजनालाई रातभर बन्धक बनाएर लुटपाट गरेको घटना सार्वजनिक भएको छ । कावासोती नगरपालिका–८ का ४६ वर्षीय सञ्जय खड्काको परिवारका सातजनालाई मंगलबार राति बन्धक बनाएर लुटपाट गरेको हो । 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार मास्क लगाएर पेस्तोलसहित आएका २ जनाले उनीहरूलाई घरभित्रै ६ घण्टा बाँधेर लुटपाट गरेका हुन् । उनीहरुले आइफोन मोबाइल एक थान र रेडमी मोबाइल दुई थान र बाला लुटेका छन् । घरका अन्य सामग्री भने चोरी नभएको बताइएको छ । प्रहरीका अनुसार सिसीटिभी फुटेजमा दुईजना मास्क लगाएका मान्छे देखिएका छन् । प्रहरीले उनीहरू ज्यान मार्ने उद्देश्यले आएको आशंका गरेको छ । साँझ ७ बजेदेखि बन्धक बनाइएकोमा राति १ बजेतिर हारगुहार मागेपछि उनीहरु भागेका थिए । 

पीडित खड्काका अनुसार उनीहरूले वृद्ध बुबाआमा, श्रीमती, छोराछोरी र बहिनीसमेतलाई नियन्त्रणमा लिई आफूहरू सामाजिक अभियन्ता भएको साथै स्थानीय मिटरब्याजीहरूको खोजी र कारबाहीको लागि आएको भन्ने आशय व्यक्त गरेका थिए । 

उनीहरूको धाकधम्कीका कारण आफूहरू डराएको र टाउकोमा मुक्काले हानेकाे खड्काले बताए । पछि परिवारका सबैले एकसाथ प्रतिकार गर्दा मोबाइल र श्रीमतीले हातमा लगाएको बाला लिएर फरार भएका थिए ।  

जिल्ला प्रहरी कार्यालय नवलपुरबाट  करिब एक किलोमिटरको मात्र दूरीमा चोकमै रहेको घरमा समेत संसाझै यस्तो किसिमको घटना हुँदा त्रासको वातावरण सिर्जना भएको स्थानीय समाजसेवि एवं खड्काका छिमेकी कपिलदेव भुषालले बताए ।  

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले मंगलबार राति करिब १ बजे आफूहरूलाई उक्त घटनाबारे जानकारी आएको र त्यस लगत्तै प्रहरी टोली रातिबाटै घटनाको अनुसन्धान जुटेकाे बताए । 

उनका अनुसार घरमा भएको सिसिटिभी फुटेज, घटनाको प्रकृति, उनीहरूले प्रयोग गरेको सवारीलगायतको अनुसन्धान जारी रहेकोले उनीहरूको खोजी जारी रहेको जनाएको छ ।

सुझावित समाचार