बागमती प्रदेशकी सांसद रमा आलेमगर १० दिनदेखि आइसियूमा, स्वास्थ्य अवस्था गम्भीर

बिहिबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

बागमती प्रदेश सभा सदस्य एवं पूर्वयुवा तथा खेलकुदमन्त्री रमा आलेमगरको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ।

पेट तथा कलेजोसम्बन्धी समस्याका कारण उनी करिब १० दिनदेखि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना भएर उपचाररत रहेको परिवार स्रोतले जनाएको छ।

लामो समयदेखि पेटको समस्याबाट पीडित आलेमगरलाई सुरुमा अल्सरको समस्या देखिएको थियो। पछिल्लो परीक्षणमा कलेजोसम्बन्धी गम्भीर जटिलता देखिएपछि चिकित्सकहरूले नजिकै अवलोकन गर्दै आइसियूमै राखेर उपचार भइरहेको उनका भाइ राम आलेमगरले जानकारी दिए।

उनका अनुसार सांसद आलेमगरको स्वास्थ्यमा अपेक्षित सुधार नआएपछि चिकित्सक टोलीले थप उपचारका लागि विदेश लैजान सुझाव दिएको छ। स्वास्थ्य उपचार खर्च धान्न कठिनाइ भएपछि सहयोग संकलनको अभियान पनि सुरु गरिएको छ।

उनको उपचारमा सक्रिय रूपमा जुटिरहेका प्रकाश खड्काले सामाजिक सञ्जालमार्फत आलेमगरको तस्बिर र बैंक क्युआर कोड सार्वजनिक गर्दै आर्थिक सहयोगका लागि अपिल गरेका छन्।

प्रदेश राजनीति तथा जनतासँग नजिकको सम्बन्धका कारण परिचित रमा आलेमगर ०७४ मा नेकपा एमालेबाट र ०७९ मा नेकपा (एकीकृत समाजवादी)बाट काठमाडौं– १० (ख) क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित भएकी हुन्।

काठमाडौं महानगरअन्तर्गत चन्द्रागिरि– ३ स्थायी बसोबास भएकी उनले ०८० चैत १९ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेल नेतृत्वको मन्त्रिपरिषदमा युवा तथा खेलकुदमन्त्रीका रूपमा जिम्मेवारी सम्हालेकी थिइन्।

सुझावित समाचार