तयारी जुत्ता–चप्पलका कारण धनकुटाका घरेलु उद्योगहरू धराशायी बन्दै गएका छन्। रेडिमेड जुत्ता–चप्पलसँग प्रतिस्पर्धा गर्न नसक्दा धनकुटाका जुत्ता–चप्पल बनाउने घरेलु उद्योगहरू धराशायी बनेका हुन् । धनकुटा नगरपालिका– ७, संगमटोलमा करिब चार दशकदेखि सञ्चालनमा रहेका प्रायः जुत्ता–चप्पल बनाउने उद्योगहरू अहिले बन्द रहेका छन् ।
केही सञ्चालनमा रहे पनि लगानी उठाउन नै निकै गाह्रो हुने गरेको छ। संगमटोलमा पहिले–पहिले जुत्ता–चप्पल किन्नेको भिड हुने गर्दथ्यो। तर, अहिले आएर सो क्षेत्र करिब सुनसानजस्तै रहेको छ। बजारमा रेडिमेड जुत्ता–चप्पलको आयात बढेसँगै आफूहरूको पुर्ख्यौली पेसा संकटमा परेको विजय सु–सेन्टरका सञ्चालक अजय बोगटीले बताए ।
कुनै समयमा परम्परागत घरेलु प्रविधिबाट बनेको छालाका जुत्ता–चप्पल देशका विभिन्न सहरहरूमा बिक्री हुने गर्दथ्यो। तर, अहिले आएर रेडिमेट जुत्ता–चप्पलका कारण ग्राहकको खडेरी लाग्न थालेको उद्योगीहरू बताउँछन्। यहाँ उत्पादिन छालाको जुत्ता–चप्पल रेडिमेडको तुलनामा गुणस्तर र टिकाउ पनि हुने गर्दछ । अहिले यहाँ उत्पादित छालाका जुत्ताको मूल्य न्यूनतम एक हजारदेखि दुई हजारसम्ममा बिक्री गर्दै आएको मोहन सुज सेन्टरका सञ्चालक कुमार बोगटीले बताए । उनले भने, ‘बजारमा पाइने रेडिमेड जुत्ता–चप्पल हेर्दामा राम्रो र सस्तो पाइने भएकाले आफूहरूको व्यवसायमा केही असर परेको छ ।’
घरेलु उद्योगहरू थोरै पुँजीमा सञ्चालन हुने भएकोले उत्पादन पनि थोरै नै हुने गर्दछ । तर, घरेलु उद्योगमा उत्पादित जुत्ता–चप्पल रेडिमेडको तुलनामा गुणस्तर र टिकाउ हुने भएकाले मूल्य पनि केही बढी पर्ने मोहन सु–सेन्टरका सञ्चालक अजय बोगटीले बताए । परम्परागत पुर्ख्यौली पेसाको रूपमा यस क्षेत्रमा सञ्चालन हुँदै आएका जुत्ता–चप्पलका घरेलु उद्योगहरू अहिले बजार अभावका कारण सामान्य रूपमा सञ्चालन हुँदै आएका छन् भने युवा पुस्तामा यस पेसाप्रतिको रुचि पनि कम हुँदै गएको व्यवसायीहरू बताउँछन्।
धनकुटामा परम्परागत रूपमा सञ्चालन हुँदै आएका जुत्ता–चप्पलका उद्योगहरूलाई प्रवर्द्धन गर्न घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले पनि विभिन्न किसिमका तालिमहरू दिँदै आएको छ । अहिले घरेलु तथा साना उद्योग कार्यालय धनकुटामा १० वटा जुत्ता–चप्पल बनाउने घरेलु उद्योग दर्ता भएका छन् ।