सिमरा झडप प्रकरण : किटानी जाहेरीपछि दुई वडाध्यक्ष पक्राउ

बिहिबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

बाराको जितपुरसिमरा उपमहानगरपालिका– २ अन्तर्गत सिमराचोकमा बुधबार भएको युवा संघ र जेन–जी समूहबिच अचानक भएको झडपले वातावरण तनावग्रस्त बनेको थियो। झडपमा सम्राट उपनामले चिनिने साइकुल उपाध्यायलगायत घाइते भएपछि उनले घटनामा संलग्न भएको दाबी गर्दै प्रहरीमा किटानी जाहेरी दर्ता गराए। जाहेरी दर्ता भएसँगै बारा प्रहरीले घटनामा संलग्न भएको आशंकामा दुई निर्वाचित वडाध्यक्षलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङका अनुसार पक्राउ परेकामध्ये जितपुरसिमरा उपमहानगरपालिका– २ का ४० वर्षीय धनबहादुर श्रेष्ठ र जितपुरसिमरा– ६ का ३४ वर्षीय कैमुद्दिन अन्सारी रहेका छन्। दुवै स्थानीय तहका जिम्मेवार जनप्रतिनिधि रहेकाले उनीहरूको संलग्नताका सम्बन्धमा प्रहरी थप गम्भीर रूपमा अनुसन्धानमा जुटेको छ।

झडपपछि इलाका प्रहरी कार्यालय सिमरामा दर्ता गरिएको किटानी जाहेरीमा सम्राट उपाध्यायले आफूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण गरिएको उल्लेख गरेका थिए।घटनामा अन्य केही व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने आशंका रहेको प्रहरीले बताएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिइएका वडाध्यक्षहरूलाई प्रारम्भिक बयान प्रक्रिया अघि बढाइएको छ। आवश्यक अनुसन्धान पूरा भएपछि कानुनी प्रक्रियाअनुसार अगाडि बढाइनेछ।

जितपुरसिमरामा यस घटनापछि स्थानीयको चासो र सुरक्षाबारे चिन्ता बढेको छ। प्रहरीले स्थानीयलाई अफवाहमा नपर्न, विवादलाई शान्तिपूर्वक समाधान गर्न सहयोग गर्न र प्रहरीसँग सहकार्य गर्न अपिल गरेको छ। प्रहरीले अन्य सम्भावित संलग्न व्यक्तिहरूको पहिचान, घटनाको वास्तविक कारण तथा योजनाबद्धतासम्बन्धी पक्षमा थप अनुसन्धान जारी रहेको पुष्टि गरेको छ।

 

सुझावित समाचार