नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले ‘उच्चस्तरस्य आर्थिक सुधार सुझाव आयोग’ले कर प्रणाली सुधारका लागि दिएको सुझाव कार्यान्वयन गर्न आग्रह गरेका छन् । परिसंघले बुधबार आयोजना गरेको ‘राजस्व प्रणालीमा सुधार’ विषयक सार्वजनिक–निजी संवाद’ कार्यक्रममा यस्तो आग्रह गरेका हुन् ।
अध्यक्ष पाण्डेले लगानी नबढेसम्म अर्थतन्त्रले गति लिन नसक्ने बताउँदै लगानी बढाउनका लागि कर प्रणालीमा सुधार आवश्यक रहेको औँल्याए । उनले आयोगले दिएको सुझाव र कार्ययोजनाअनुसार यथाशक्य चाँडो कर प्रणालीमा सुधार गर्न आवश्यक रहेको बताए ।
आयोगले कर तथा राजस्व प्रणाली सुधारका लागि ३३ सुझाव दिएको थियो । राजस्व प्रशासनको दक्षता तथा क्षमता सुधार, घरबहाल कर स्थानीय तहमा मात्रै बुझाउने, कर कार्यालय र कम्पनी रजिस्ट्रार कार्यालयका प्रणालीबिच सम्बन्ध स्थापित गर्ने, अन्त:शुल्क लाग्ने वस्तुहरूको संख्या क्रमश: घटाउने, राजस्व अनुसन्धान विभाग खारेज गर्नुपर्ने, निर्यातमा हुने आयमा १० प्रतिशत मात्रै कर लगाउनेलगायत सुझाव दिएको थियो ।