विश्व शौचालय दिवसका अवसरमा सिराहाको लहान नगरपालिकाले ‘घर–घरको सान, स्वच्छता अभियान–०८२’ थालेको छ ।
स्थानीय पशुपति आदर्श माविको प्रांगणमा बुधबार आयोजित विशेष समारोहमा नगर प्रमुख महेशप्रसाद चौधरीले अभियानको औपचारिक उद्घाटन गरेका हुन्। ‘करिब आठ वर्षअघि खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेको लहानमा अझै पनि चार हजारभन्दा बढी घरपरिवार शौचालयविहीन छन्,’ अभियानको उद्घाटन गर्दै उनले भने, ‘अब कागजी घोषणा मात्र होइन, नगरका हरेक घर शौचालययुक्त बनाइनेछ।’
नगरपालिकाको सर्वेक्षणअनुसार दलित, भूमिहीन, गरिब तथा विपन्न बस्तीहरूमा सरसफाइ र शौचालयको अझै अभाव छ । कार्यक्रममा नगर क्षेत्रका जनप्रतिनिधिहरूले ‘म मेरो घर, टोल, वडा र नगरपालिकालाई स्वच्छ, सफा र सुनदर राख्ने अभियानलाई मन, वचन र कर्मबाट आत्मसात् गर्नेछु’ भन्दै शपथ लिएका थिए । नगरपालिकाका अनुसार दिसाजन्य लेदो प्रशोधन केन्द्रको अभाव, सुरक्षित खानेपानीको कमी तथा नियमित मर्मत सम्भार नहुनुलगायतका कारणले नगरको समग्र स्वच्छताको स्तर कमजोर रहेको छ ।
चार हजारभन्दा बढी घरमा छैन शौचालय
नगरपालिकाको पछिल्लो सर्वेक्षणअनुसार नगरका २४ हजार सात सय घर परिवारमध्ये करिब १७ प्रतिशत अर्थात् चार हजार दुई सय घरमा शौचालय छैन । जसका कारण खुला रुपमा दिसा पिसाब गर्न सर्वसाधारण बाध्य छन् ।
सरसफाइ र स्वच्छताको दृष्टिकोणले यो संख्या ठूलो रहेको प्रमुख प्रशासकीय अधिकृत जयकान्त झाले बताए । खुला दिसामुक्त घोषणा भइसकेको नगरमा अहिले पनि खुला शौच गर्नेहरूको संख्या रहेकाले नगरको घर, बस्ती र समुदायलाई परिवर्तन गर्न अभियान थालिएको हो ।
दलित, भूमिहीन, गरिब तथा बाढी–जोखिमयुक्त बस्ती शौचालयविहीन रहेकाले त्यस्ता ठाउँमा केन्द्रित भएर लागत साझेदारीमा शौचालय निर्माण र प्रयोगको अभियान जरुरी महसुस गरी अभियान थालिएको उनले बताए । नगरपालिकाका अनुसार अभियानअन्तर्गत नगरपालिकाले जनप्रतिनिधि, सामाजिक परिचालक, समुदायिक संघ संस्था, विद्यार्थी तथा युवाहरुको सहकार्यमा आगामी तीन महिनासम्म हरेक घर–घर पुगेर प्रत्यक्ष अनुगमन गरिनेछ ।
आधुनिक सार्वजनिक शौचालय बनाइँदै
शौचालय दिवसकै अवसरमा नगरपालिकाले मुख्य बजार क्षेत्रमा पर्ने लहान–८, हुलाकचोकमा आधुनिक सार्वजनिक शौचालय निर्माण थालेको छ । नगर प्रमुख चौधरी, संघीय खानेपानी मन्त्रालयकी सहसचिव मीना श्रेष्ठले संयुक्त रूपमा शौचालयको शिलान्यास गरेका हुन्। करिब ५० लाख रुपैयाँको लागतमा निर्माण हुने शौचालय चालू आर्थिक वर्षभित्र सम्पन्न गरिने जनाइएको छ।
अत्याधुनिक प्रविधियुक्त ‘स्मार्ट शौचालय’मा महिला, ज्येष्ठ नागरिक, बालबालिका तथा अपांगता भएका व्यक्तिलाई सहज पहुँच हुने व्यवस्था राखिने बताइएको छ। उनका अनुसार शौचालय लहानका लागि नमुना हुने र त्यसमा कफी सप, स्तनपान केन्द्र र सेनेटरी प्याड फेर्ने सुविधासमेत उपलब्ध गराइनेछ।