राहदानी विभागबाट आठ बिचौलिया पक्राउ

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

राहदानी बनाइदिने भनी बिचौलियाको काम गरेको अभियोगमा आठजनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका– ९ बस्ने पाँचथर घर भएका २६ वर्षीय सञ्जय आङ्देम्बे, काठमाडौं शंखरापुर नगरपालिका– ६ बस्ने ३२ वर्षीय ख्यामबहादुर श्रेष्ठ, काठमाडौं महानगरपालिका– ३२ बस्ने सिन्धुपाल्चोक घर भएका २५ वर्षीय प्रेमबहादुर लामा छन्। त्यस्तै, काठमाडौं महानगरपालिका– २८ बस्ने १८ वर्षीय किशोर, काठमाडौं महानगरपालिका– २६ बस्ने सुर्खेत घर भएका २९ वर्षीय टेकबहादुर सुनार, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका– ९ बस्ने दोलखा घर भएका ३० वर्षीय साजन श्रेष्ठ, काठमाडौं नागार्जुन नगरपालिका– ६ बस्ने रामेछाप घर भएका ४० वर्षीय गोकुलबहादुर श्रेष्ठ र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका– ८ बस्ने सिन्धुपाल्चोक घर भएका ३८ वर्षीय जीवन लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।  

राहदानी विभाग त्रिपुरेश्वर काठमाडौंको मूलगेटबाहिर सेवाग्राहीहरूलाई राहदानी छिटोछरितो बनाइदिने भनी विश्वास दिलाई अतिरिक्त रकम लिई दुःख हैरानी दिने तथा राहदानी विभागका कर्मचारीको कामकारबाहीमा अवरोध पुर्याउने कार्य गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको एसपी काजीकुमार आचार्यले बताए। पछिल्लो समय राहदानीको अभाव भएपछि विभागमा बिचौलियाको बिगबिगी बढेको छ। 

सुझावित समाचार