इतिहासमा आज

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

सन् १९४२ : सोभियत संघले आक्रमणकारी जर्मन फौजविरुद्ध स्टालिनग्रादमा अप्रेसन युरेनस सुरु गर्यो । दश लाख सोभियत सेना सरिक यस प्रत्याक्रमण अभियानपछि दोस्रो विश्वयुद्धको पूर्वी मोर्चामा ठुलो मोड मानिन्छ ।

सन् १७९४ : फ्रान्सेली क्रान्तिताका उग्र खेमाका नेताहरूको समूह ज्याकोबिन क्लब बन्द गरियो । जुलाईमा म्याक्सिमिलियन रोबेस्पेयर नेतृत्वबाट पदच्युत भएर मृत्युदण्ड दिइएपछि यस समूहमाथिको निगरानी बढेको थियो ।

सन् १८६३ : गेटिसबर्ग युद्धको सम्झनामा बनाइएको राष्ट्रिय स्मारकमा राष्ट्रपति अब्राहम लिंकनले चर्चित ‘गेटिसबर्ग सम्बोधन’ गरे । २७२ शब्दको संक्षिप्त सम्बोधनमा उनले ‘प्रजातन्त्रिक सरकार भनेको जनताको, जनताबाट र जनताका लागि’ भन्ने चर्चित उद्गार पनि व्यक्त गरेका थिए ।

सन् १९१७ : भारतकी दुईपटककी (सन् १९६७–७७ र सन् १९७८–८४) प्रधानमन्त्री इन्दिरा गान्धि यसै दिन जन्मिएकी थिइन् ।

सन् १९६९ : रियो दे जेनेरियोस्थित माराकाना रंगशालामा सान्तोष क्लब र भास्को दा गामा क्लबबिचको खेलमा चर्चित फुटबर पेलेले सान्तोसतर्फबाट आफ्नो व्यावसायिक खेलजीवनको १०००औँ गोल गरे ।

सन् १९८५ : अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र सोभयित संघको सत्तारुढ कम्युनिस्ट पार्टीका महासचिव मिखाइल गोर्बाचेभबिच जेनेभामा भएको भेटमा आणविक अस्त्र कटौतीलगायत विषयमा छलफल भयो । यो दुई नेताबिचको पहिलो भेटघाट थियो ।

सन् २००७ : अमेजन डट कमले ‘किन्डल’ बेच्न सुरु गर्यो । किन्डलले विश्वभर इ–बुक (अर्थात् विद्युतीय पुस्तक)को प्रयोगलाई लोकप्रिय बनाउन सघायो ।

सन् २०१० : न्युजिल्यान्डमा सय वर्षयताकै ठुलो खानी दुर्घटनामा पाइक नदी खानीमा २९ जना मारिए । 

सुझावित समाचार