कारागार पुगेर अमरेशले भेटे रविलाई

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

विघटित प्रतिनिधिसभाका स्वतन्त्र सांसद अमरेश सिंहले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । मंगलबार नक्खु कारागार पुगेर सिंहले लामिछानेसँग भेट गरेका हुन् । भेटमा देश र राजनीतिक दलमाथि जनताको विश्वास कसरी कायम गर्ने, त्यसका लागि जनताको परिवर्तनको आवेगलाई कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भएको सिंहले बताए । ‘जनताले परिवर्तन खोजेको छ, किनकि ०४७ सालमा त्यही शेरबहादुर देउवा, ०८२ सालमा उही देउवा, ०५१ सालमा त्यही केपी ओली गृहमन्त्री, ०८२ सालमा उही ओली प्रधानमन्त्री । अहिले पनि छोड्ने छाँट छैन,’ उनले भने । 

सिंहले लामिछानेसँग राजनीतिक सहकार्य र कार्यगत एकताको सहमति भएको बताए । ‘बदलिँदो परिस्थिति, युवाको भावना पहिचान, विगतको विकृति विसंगति कसरी सफा गर्ने भनेर कुरा भयो । मिलेर जाऊँ भन्ने रविजीको प्रस्ताव छ । अहिले नै सबै कुराको निर्क्योल भएको छैन । तर, सम्भावना छैन भन्न मिल्दैन,’ उनले भने ।

सिंहले बालेन, रवि, कुलमान र जेन–जीहरू मिलेर जनमतको माध्यमबाट परिवर्तनलाई स्थापित गर्न आफू लाग्ने बताए । ‘आउने चुनावबाट पुरानो दल बढारिनुपर्छ । समस्या समाधान गर्न नयाँ अलायन्सको आवश्यकता छ,’ उनले भने ।

सहकारी प्रतिवेदनलाई पुनर्विचार गर्नुपर्छ : वाग्ले
रास्वपा उपसभापति स्वर्णिम वाग्लेले सहकारीसम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनलाई पुनर्विचार गर्न सरकारसँग माग गरेका छन् । मंगलबारै सभापति रवि लामिछानेलाई भेटेका वाग्लेले गृहसचिव रामेश्वर दंगाललाई भेटेर फेरि अनुसन्धान गर्न माग गरेका हुन् । ‘रवि लामिछानेको केसमा अधिक अभियोजन भयो र राजनीतिक सास्ती भयो । राजनीति मिसिएको छर्लंगै छ । अघिल्लो सरकारले सहकारीसँग कुनै साइनो नभएका व्यक्तिलाई निजी कम्पनीको मामिलामा कम्पनी ऐनअनुसार अघि नबढेर सम्पत्ति शुद्धीकरण, संगठित अपराध, सहकारी ठगी मुद्दा लगाएर, पाँच जिल्लामा अल्झाउने गरी राजनीति गर्यो । त्यसलाई अहिलेको न्यायप्रतिको इमानदार सरकारले सच्याउनुपर्छ । लिगल मेरिटमा राजनीति मिसाइएकै हो । ४० लाख हस्ताक्षरले पुष्टि गरेकै हो । अनुसन्धान फेरि गर्नुपर्ने विन्दुमा कानुनी राय लिओस्,’ उनले भने । 

सुझावित समाचार