आफ्नै कीर्तिमान भंग गर्दै विराटनगरले बनायो एनपिएलकै धेरै रन, गप्टिल र लोकेशको अर्धशतक

मंगलबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण
आफ्नै कीर्तिमान भंग गर्दै विराटनगरले बनायो एनपिएलकै धेरै रन, गप्टिल र लोकेशको अर्धशतक

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

न्युजिल्यान्डका स्टार खेलाडी मार्टिन गप्टिल र लोकेश बमको सतकीय साझेदारीपछि विराटनगर किंग्सले दोस्रो नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई २२१ रनको कीर्तिमानी लक्ष्य दिएको छ। एनपिएलको इतिहासमा दुई सय रन पहिलो पटक पूरा भएको हाे।

एनपिएलको इतिहासमा एकै इनिङ्समा बनेको यो नै सबैभन्दा धेरै रन हो। विराटनगरले आफ्नै कीर्तिमान भंग गरेको छ। यसअघि पहिलो संस्करणमा पनि विराटनगरले लुम्बिनीविरुद्ध कीर्तिपुरमै १९३ रन बनाएको थियो। 

मंगलबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै २२० रन बनाएको हो।

विराटनगरको लागि गप्टिल र लोकेशले अर्धसतक बनाए। १.२ ओभरमा जर्ज मुन्सेलाई गुमाएको विराटनगरको लागि गप्टिल र लोकेशले दोस्रो विकेटको लागि एक सय ३२ रनको साझेदारी गरेका थिए। 

ओपनर लोकेशले सर्वाधिक ७२ रन बनाए। उनले ४८ बलमा १ चौका र ७ छक्का हिर्काएका थिए। लोकेशले ५ छक्कासहित ३७ बलमा अर्धसतक पूरा गरेका हुन्। उनी कुशल भुर्तेलको बलमा वैकल्पिक फिल्डिर अर्जुन कुमालबाट क्याच आउट भएका थिए। 

तेस्रो नम्बर क्रिजमा आएका गप्टिलले आक्रमक ब्याटिङ गर्दै ६१ रन बनाए। ३५ बलमा ३ चौका र ५ छक्का हिर्काएका गप्टिल सागर ढकालको बलमा कुशल भुर्तेलबाट क्याच आउट हुन पुगेका थिए। यसअघि गप्टिलले २८ बलमा तीन चौका र ४ छक्कासहित २८ बलमै अर्धसतक प्रहार गरेका थिए। 

बसिर अहमदले १२ बलमा समान एक चौका र छक्कासहित २३ रनको योगदान गरेका थिए। अमेरिका शुभम रन्जनेले १६ बलमा तीन चौका र २ छक्कासहित ३८ रन बनाएका हुन्। 

पोखराको लागि म्याट टेलरले सर्वाधिक दुई तथा सागर ढकाल र कुशल भुर्तेलले समान एक विकेट लिएका हुन्। 

विराटनगरमा अनुबन्ध भएका स्टार अर्का दक्षिण अफ्रिकाका खेलाडी फाफ डु प्लेसिस भने पहिलो खेलमा उपलब्ध भएनन्। उनी अन्तिम चरणमा खेल हेर्न नेपाल आइपुग्ने बताइएको छ।

सुझावित समाचार