कर्णालीविरुद्ध चितवनको पहिलो जित

मंगलबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध पहिलो जित निकालेको छ। त्रिवि क्रिकेट मैदानमा इंग्लिस खेलाडीद्वय रवि बोपराको अर्धसतक तथा शैब जइबको आक्रामक ब्याटिङकाे मद्दतमा चितवनले कर्णालीलाई चार विकेटले पराजित गरेको हो।

चितवनले पहिलोपटक कर्णालीलाई हराएको हो। पहिलो सिजनमा भएको दुवै भेटमा कर्णाली विजयी भएको थियो। लिग चरणमा ६ विकेट तथा इलिमिनेटरमा २१ रनले पराजित गरेको थियो। यही हारको बदला चितवनले दोस्रो सिजनको पहिलो खेलमै लिएको छ।

दोस्रो एनपिएलको दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १६७ रनको लक्ष्य दिएको थियो। प्रत्युत्तरमा चितवनले १९.१ ओभरमा ६ विकेट गुमाउँदै प्रतियोगितामा विजयी सुरुवात गरेको हो। कर्णालीले भने प्रतियोगितामा हारबाट सुरु गर्याे।

चितवनको जितमा रवि बोपाराले सर्वाधिक ५२ रन बनाए। उनले ३६ बलमा समान तीन चौका र छक्का प्रहार गरे। उनलाई मार्क वाटले प्रियांक पञ्चालबाट क्याचआउट गराएका हुन्।

इंग्लिस खेलाडी शैब जइवले आक्रामक ब्याटिङ गर्दै ३८ रन बनाएका थिए। १६ बलमा उनले दुई चौका र चार चौका प्रहार गरेका थिए। लगातार दुई छक्का हिर्काएर दबाब सिर्जना गरेका २७ वर्षीय बायाँहाते ब्याटरलाई कप्तान सोमपाल कामीले एलबिडब्लू धरापमा पारेका हुन्। पहिलो सिजन उनले उपविजेता सुदूरपश्चिमबाट खेलेका थिए। 

यसअघि ओपनर दीपक बोहराले ३६ बलमा ६ चौका र एक छक्कासहित ४२ रन बनाए। उनलाई विपिन खत्रीले कप्तान सोमपाल कामीबाट क्याचआउट गराएका थिए। 

१५ बलमा दुई छक्कासहित २० रन बनाएका कप्तान कुशल मल्ललाई सोमपालले गुल्सन झाबाट क्याच गराएका थिए। कर्णालीबाट चितवन पुगेका देव खनालले मात्र दुई रन बनाए। इंग्ल्यान्डबाट विश्वकप खेलिसकेका डेबिड मालमले मात्र ६ रन बनाउन पुगे। 

कर्णालीका लागि कप्तान सोमपालले सर्वाधिक दुई विकेट लिए। तर, उनी चार ओभरमा ३३ रन खर्चिन पुगेका थिए। युनिषविक्रम ठकुरी, मार्क वाट र युवराज खत्रीले समान एक विकेट लिएका थिए। गुल्सन झा र नन्दन यादव भने विकेटविहीन भएका हुन्। 

पहिलो इनिङ्समा पहिलोपटक एनपिएल खेलिरहेका भारतीय ३५ वर्षीय ओपनरले पहिलो खेलमै सर्वाधिक ९० रन बनाए। रवि बोपराको बलमा देव खनालबाट क्याचआउट हुनुअघि उनले आक्रामक ब्याटिङ गर्दै ४८ बलमा सात चौका र ६ छक्का हिर्काएका हुन्।

यसअघि उनले २८ बलमा चार चौका र तीन छक्कासहित अर्धसतक बनाएका थिए। उनले अर्धसतक बनाउँदा कर्णाली १० ओभरमा एक विकेट गुमाएर ७२ रन बनाउन सफल भएको थियो। दायाँहाते ब्याटरले गुजरातका लागि रणजी ट्रफी खेल्दै आएका छन्।

पवन सर्राफले १६ बलमा एक चौका र तीन छक्कासहित अविजित २७ रनको योगदान गरे। नाजिमुल्लाह जाद्रन पनि चार रनमा अविजित रहे।

अर्का ओपनर म्याक्स ओ डाउडले कर्णाली याक्सका लागि ३० बलमा एक चौकासहित २० रन बनाएका हुन्। नेदरल्यान्ड्सका स्टार खेलाडी डाउडलाई इंग्ल्यान्ड खेलाडी सइफ जइवले बोल्ड गराएका थिए।

तेस्रो नम्बरमा आएका स्कटल्यान्डका मार्क वाटले २० बलमा १६ रन बनाए। एक चौका हिर्काएका उनलाई सोहेल तनवीरले रिजन ढकालबाट क्याच गराएका हुन्। उनी आउट हुँदा कर्णालीले १८.२ ओभरमा तीन विकेट गुमाएर १४० रन बनाएको थियो।

चितवनका लागि जइव, सोहेल तनवीर र रविले समान एक विकेट हात पारेका थिए। तनवीरले चार ओभरमा २६ रन खर्चिए। चार ओभर बलिङ गरेका कमलसिंह ऐरीसँगै समान तीन ओभर बलिङ गरेका  रिजन ढकाल र कुशल मल्ल भने विकेटविहीन भए।

आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स खेल्दै छन्। प्रतियोगिता २७ मंसिरसम्म त्रिवि क्रिकेट मैदानमै हुनेछ।

सुझावित समाचार