धनकुटामा प्रभावकारी बन्दै राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम

मंगलबार, ३ मंसिर, २०८२
डिजिटल संस्करण

धनकुटाको पाख्रीबास कृषि अनुसन्धान कार्यालयको राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । फेस्र (सेमेन (बंगुरको ताजा वीर्य) संकलन गरी बंगुरमा गरिने कृत्रिम गर्भाधारण कार्यक्रम प्रभावकारी बन्दै गएको हो। पाख्रीबासमा कालो बंगुरको अनुवांशिक शुद्धता र बंगुरपालक किसानको सुविधाका लागि कृत्रिम गर्भाधारण सेवा २०७८ सालदेखि सुरु भएको हो । प्रयोगशाला व्यवस्थापनपछि सेमेन प्रशोधन गरेर हप्तामा ६० वटा पोथी बंगुरमा कृत्रिम गर्भाधारण गरिँदै आएको छ। यहाँ बंगुरका विभिन्न जाति–प्रजातिमाथि पनि अनुसन्धान गर्ने गरिएको छ ।

प्राविधिक विकासको कामलाई थप विस्तार गर्न राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रम सञ्चालन गरिएकाे राष्ट्रिय बंगुर अनुसन्धान कार्यक्रमका संयोजक मनोजकुमार शाहले बताए । यो कार्यक्रम चार वर्षअघि ललितपुरस्थित खुमलटारबाट धनकुटाको पाख्रीबासमा सारिएको थियो । तर, अहिले पर्याप्त मात्रामा वैज्ञानिक र प्राविधिक नहुँदा काम गर्न समस्या भएको संयोजक शाहले बताए । आवश्यक जग्गा, पूर्वाधार र उपकरणको व्यवस्था राम्रो नहुँदा बंगुरको कृत्रिम गर्भाधारण कार्यमा तीव्रता आउन सकेको छैन । तैपनि पाख्रीबासको कालो बंगुरमा कृत्रिम गर्भाधारण कार्यक्रम ८५ प्रतिशत सफल रहेको संयोजक शाहले बताए ।

एउटा भाले बंगुरको हप्तामा दुईपटक वीर्य संकलन गर्ने गरिन्छ । एकपटकमा चारदेखि पाँच सय एमएलसम्म वीर्य संकलन गर्ने गरिएको छ । उक्त वीर्य १० देखि १५ डोज कृत्रिम गर्भाधारणका लागि प्रयोग हुने गर्दछ । उक्त संकलित वीर्य १७ डिग्री सेल्सियसमा राखेर दुई–तीन घण्टाको दूरीसम्म रहेको कृषकको घरसम्म पुर्याउन सकिन्छ । तर, त्योभन्दा टाढा लैजानका लागि भने समस्या रहेको छ । यसका लागि स्थानीय सरकारहरूले पनि सहयोग गर्न आवश्यक रहेको छ । जसका कारण स्थानीय बंगुरपालक कृषकहरू लाभान्वित हुने कार्यालयले जनाएको छ ।

पाख्रीबास कृषि अनुसन्धान केन्द्रले अनुसन्धान गरी विकास गरेको पाख्रीबासको कालो जातको बंगुरको मासु स्वादिलो र मिठो हुने उपभोक्ताहरू बताउँछन् । तैपनि अपेक्षाअनुसार व्यावसायिक रूपमा बंगुर उत्पादन गर्न सकिएको छैन । कालो रंग, मझौला खालको शारीरिक बनावट, रैथाने र स्थानीयको तुलनामा छिटो बढ्ने, धेरै पाठा जन्माउने, प्रतिकूल वातावरण र गाउँले व्यवस्थापनमा पनि सजिलैसँग पाल्न सकिने र रोग तथा परजीवी प्रतिरोधात्मक क्षमता बढी हुने पाख्रीबासको कालो बंगुरको विशेषता रहेको छ । जसका कारण पाख्रीबासको कालो बंगुरको माग अत्यधिक रहेको कार्यालयले जनाएको छ ।
 

सुझावित समाचार